१७ भाद्र २०८३, बुधबार

साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

ड्रागन मिडिया सम्वाददाता

साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंमा झमझम पानी परिरहे पनि शिवभक्तहरू लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि प्रवेश गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका सदस्य केदारमान भण्डारीका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्।

गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थानलगायत विभिन्न क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ आउने क्रम जारी छ। गौरीनगरसम्म भक्तजनको लाम देखिएको छ।

साउनको अन्तिम सोमबारका अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने श्रद्धालुको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाका लागि आवश्यक व्यवस्था मिलाइएको कोषले जनाएको छ। बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको समेत उल्लेख्य उपस्थिति रहेको छ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्था परिचालित भएका छन्।

सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

बिहान ३ बजेदेखि खुलेका मन्दिरका चारै ढोका बेलुकी आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

मन्दिर प्रवेशका लागि चारै दिशाबाट लामको व्यवस्था गरिएको छ। बिहानैदेखि ठूलो संख्यामा भक्तजन पुगे पनि लामो समयसम्म पर्खनुपर्ने अवस्था नरहेको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारसहित अत्यावश्यक सेवाको व्यवस्था गरिएको छ। विभिन्न संघसंस्थाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।

यसैगरी काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रमा ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला तथा साना शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button