१९ भाद्र २०८३, शुक्रबार

अर्थमन्त्री वाग्ले २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग छलफल गर्दै

ड्रागन मिडिया सम्वाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ प्रतिनिधिसँग छलफल गर्दै छन्।

आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयन छलफल श्रृंखलाअन्तर्गत अर्थ मन्त्रालयले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी प्रतिनिधि तथा नेपाली साझेदारलाई छलफलका लागि आमन्त्रण गरेको हो।

मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजेदेखि हुने छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, बजेटले उपलब्ध गराएका सुविधा र थप लगानी विस्तारका सम्भावनाबारे प्रत्यक्ष सुझाव लिने कार्यक्रम छ।

छलफलमा विशेषगरी नेपालमा थप लगानी विस्तार, रोजगारी सिर्जना, व्यावसायिक वातावरण सुधार तथा लगानीबाट प्राप्त प्रतिफल फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा केन्द्रित भएर संवाद हुने जनाइएको छ।

अर्थमन्त्री वाग्लेले सहभागी कम्पनीका प्रतिनिधिलाई आफूहरूले भोगिरहेका समस्या र सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक उपायबारे खुलस्त रूपमा धारणा राख्न आग्रह गर्नेछन्। मन्त्रालयले कम्पनीहरूलाई आफ्ना समस्या तथा सुझाव लिखित रूपमा समेत पेश गर्न अनुरोध गर्ने तयारी गरेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन निजी क्षेत्रका विभिन्न समूहसँग प्रत्यक्ष छलफल गर्ने श्रृंखला अघि बढाएको छ।

यसैक्रममा अर्थमन्त्री वाग्लेले यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन्।

उनले ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयन, वित्तीय क्षेत्रका समस्या र आर्थिक गतिविधि विस्तारसँग सम्बन्धित विषयमा छलफल गरिसकेका छन्।

बहुराष्ट्रिय कम्पनीसँगको पछिल्लो संवादमार्फत सरकारले विदेशी लगानीकर्ताले नेपालमा सामना गरिरहेका व्यावहारिक समस्या पहिचान गर्ने, लगानी विस्तारका अवरोध हटाउने तथा बजेटमा घोषणा गरिएका नीतिगत सुविधाको प्रभावकारी कार्यान्वयनका लागि प्रत्यक्ष सुझाव संकलन गर्ने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button