१९ भाद्र २०८३, शुक्रबार

सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालयमा धर्ना

ड्रागन मिडिया सम्वाददाता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले सेवा सुरक्षा, सामाजिक सुरक्षा तथा अन्य माग सम्बोधन गर्न आग्रह गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्।

करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका प्रदेश कार्यालय, प्राविधिक शिक्षालय, तालिम केन्द्र तथा परिषद अन्तर्गतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनअन्तर्गत सोमबार सीटीईभीटीको केन्द्रीय कार्यालयमा भेला भएका कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न व्यवस्थापनलाई दबाब दिँदै धर्ना दिएका छन्।

संघर्ष समितिका अनुसार कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चिततासहितका विषय समेटेर परिषद व्यवस्थापनसमक्ष नौ बुँदे मागपत्र पेस गरिएको छ।

समितिले लामो समयदेखि परिषद अन्तर्गत करार, मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले सेवा सुरक्षा र सुविधासम्बन्धी विषय उठाउँदै आए पनि व्यवस्थापनबाट ठोस निर्णय हुन नसकेको जनाएको छ।

समितिका अनुसार २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन, मागपत्र पेस तथा समस्या समाधानका लागि प्रतिवेदन तयार गर्ने कामसमेत हुँदै आएको छ। पटकपटक ध्यानाकर्षण गराउँदा पनि कर्मचारीका माग सम्बोधन गर्ने गरी ठोस निर्णय नभएको संघर्ष समितिको भनाइ छ।

समितिले परिषद व्यवस्थापनलाई २०८३ साउन ११ गते २४ घण्टे अल्टिमेटमसमेत दिएको जनाएको छ। अल्टिमेटम सकिँदासमेत माग सम्बोधनका लागि सकारात्मक पहल नभएपछि चरणबद्ध आन्दोलनमा जान बाध्य भएको समितिले उल्लेख गरेको छ।

आन्दोलनरत कर्मचारीहरूले आफूहरूले लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा योगदान दिँदै आए पनि सेवा, सुविधा र सामाजिक सुरक्षाका विषयमा विभेद भोग्नुपरेको गुनासो गरेका छन्।

एउटै प्रकृतिको काममा लामो समयदेखि कार्यरत कर्मचारीलाई समेत स्थायी वा दीर्घकालीन सेवाको सुनिश्चितता नहुँदा भविष्य अन्योलमा परेको उनीहरूको भनाइ छ।

संघर्ष समितिले करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीको सेवा सुरक्षाको सुनिश्चिततासहित नौ बुँदे माग तत्काल सम्बोधन गर्न परिषद व्यवस्थापनसँग आग्रह गरेको छ।

माग सम्बोधन नभए आन्दोलनका कार्यक्रमलाई थप कडा बनाउँदै लैजाने चेतावनीसमेत समितिले दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button