‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भोलिदेखि, तयारी अन्तिम चरणमा

ड्रागन मिडिया सम्वाददाता
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
एक्स्पो सुरु हुन एक दिन मात्र बाँकी रहँदा सहभागी अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल निर्माण तथा सजावटमा व्यस्त छन्। प्रदर्शनीस्थलमा रातिसम्म स्टल निर्माण, सवारीसाधन राख्ने स्थान व्यवस्थापन तथा अन्य प्राविधिक तयारी भइरहेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो साउन २६ देखि ३१ गतेसम्म अर्थात अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
आयोजकका पछिल्ला विवरणअनुसार एक्स्पोमा ५१ स्टल रहनेछन् भने ५५ भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुनेछन्। प्रदर्शनीका क्रममा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गर्ने तयारी छ।
एक्स्पोमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनसँगै व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारी प्रविधि, सेवा र मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन तथा समाधान प्रदर्शन गरिनेछ।
नाइमाले यस वर्षको प्रदर्शनीलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको ठूलो मञ्चका रूपमा प्रस्तुत गरेको छ। एकै स्थानमा नयाँ सवारीसाधन, प्रविधि र मोबिलिटीसम्बन्धी उत्पादन सार्वजनिक हुने भएकाले एक्स्पोलाई नेपाली अटोमोबाइल बजारका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।





