जुम्ला यातायात कार्यालयको राजस्व १ करोड ९४ लाख, अघिल्लो वर्षभन्दा करिब ५० लाख बढी

ड्रागन मिडिया सम्वाददाता
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ मा एक करोड ९४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल एक करोड ९४ लाख ४४ हजार रुपैयाँको हाराहारीमा राजस्व संकलन भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक करोड ४३ लाख २२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।
यसरी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ५० लाख रुपैयाँ राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार सवारीसाधन र सवारी चालक अनुमतिपत्र लिने सेवाग्राहीको संख्या वृद्धि हुनुका साथै सेवा प्रवाह छिटोछरितो र प्रभावकारी बनाइएकाले राजस्व संकलन बढेको हो।
गत आर्थिक वर्षमा पटके तथा रुट परमिटबाट करिब १८ लाख ८८ हजार रुपैयाँ, चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट करिब ६४ लाख ९२ हजार रुपैयाँ र अग्रिम आयकरमार्फत करिब ६ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यसैगरी बेरुजु असुलीबाट एक हजार ५७५ रुपैयाँ तथा सवारीसाधन करतर्फ करिब एक करोड तीन लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कार्यालयले नयाँ सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र वितरण, सवारी नामसारी, पटके तथा रुट परमिटलगायतका सेवा प्रदान गर्दै आएको छ।
कार्यालयबाट मोटरसाइकल, स्कुटर र मोपेड वर्ग ‘ए’ अन्तर्गत १८८ वटा तथा कार, जिप र डेलिभरी भ्यान वर्ग ‘बी’ अन्तर्गत ३८ वटा चालक अनुमतिपत्र वितरण गरिएको छ।
यसैगरी चालक अनुमतिपत्रको प्रतिलिपि तथा नवीकरणतर्फ ३९४ वटा गरी कुल ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले सेवा प्रवाहमा सुधार, सवारीधनी तथा यातायात व्यवसायीलाई करको दायरामा ल्याउने प्रयास र सवारीसाधन तथा चालक अनुमतिपत्रसम्बन्धी सेवाको विस्तारले राजस्व वृद्धिमा सहयोग पुगेको जनाएको छ।





