१७ भाद्र २०८३, बुधबार

मकवानपुरबाट पेस्तोल, सिन्धुपाल्चोक, दैलेख र प्युठानबाट २० भरुवा बन्दुक बरामद

ड्रागन मिडिया सम्वाददाता

प्रहरीले मकवानपुरबाट एक थान पेस्तोल र एक थान म्यागजिन बरामद गरेको छ भने सिन्धुपाल्चोक, दैलेख र प्युठानका विभिन्न स्थानबाट २० थान भरुवा बन्दुक बरामद गरेको छ।

मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट आइतबार राति पेस्तोल र म्यागजिन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले बेतनी अगौटे घर भएका १९ वर्षीय टेक बहादुर सिङतानलाई आइतबार दिउँसो काठमाडौंको नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त नयाँबानेश्वर र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको संयुक्त टोलीले उनको घरमा तलासी गर्दा पेस्तोल र म्यागजिन फेला पारेको हो।

यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ खालेस्थित जंगलबाट एकनाले भरुवा बन्दुक एक थान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको टोलीले आइतबार साँझ उक्त बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

दैलेखको ठाटिकाँध गाउँपालिका–१ मानाकोटस्थित मालुकोट सामुदायिक वनबाट पनि एकनाले भरुवा बन्दुक एक थान बरामद भएको छ। प्रहरी चौकी ठाटिकाँधबाट खटिएको टोलीले आइतबार बेलुकी उक्त हतियार फेला पारेको हो।

प्युठानमा दुई अलग स्थानबाट ठूलो संख्यामा भरुवा बन्दुक बरामद गरिएको छ। झिमरुक गाउँपालिका–४ चापापानी सामुदायिक वन क्षेत्रबाट पाँच थान एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रबाट १३ थान भरुवा बन्दुक तथा बन्दुकका दुई थान नाल बरामद गरिएको छ।

यसरी सिन्धुपाल्चोक, दैलेख र प्युठानबाट कुल २० थान भरुवा बन्दुक बरामद भएका छन्।

बरामद हतियार र पक्राउ परेका व्यक्तिका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button