‘कालो चस्मा खोल्नुहोस्, तपाईं एक्लो हुनुहुन्न’, प्रधानमन्त्री शाहलाई सांसद काउचाको सन्देश

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहलाई मुलुकको हितमा चालिने सही कदममा प्रतिपक्षको साथ रहने भन्दै आफूलाई एक्लो महसुस नगर्न आग्रह गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै काउचाले प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गरेको प्रसंग उठाउँदै यस्तो धारणा राखेकी हुन्।
काउचाले सत्तापक्षकै सांसदहरूले सरकारलाई खबरदारी गरिरहेका बेला प्रधानमन्त्रीलाई एक्लो महसुस गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न गरिन्।
उनले भनिन्, “सत्तापक्षकै सांसदहरूले खबरदारी गर्न खोज्दा एक्लो महसुस गर्नुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? त्यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ।”
प्रधानमन्त्री शाहको कालो चस्मालाई संकेत गर्दै काउचाले भनिन्, “कालो चस्मा खोल्नुहोस्, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्षी तपाईंको साथमा छ।”
काउचाले भने विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य मान्यता र संसदीय अभ्यासलाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने स्पष्ट पारिन्।
उनले प्रधानमन्त्री शाहले यसअघि नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विषय पनि उठाइन्। प्रधानमन्त्रीले “नेपालले पनि भारतको जमिन मिचेको” भन्ने आशयको अभिव्यक्ति सच्याउनुपर्नेमा त्यसो नगरेको भन्दै उनले दुःख व्यक्त गरिन्।
प्रधानमन्त्री सत्तापक्षको मात्र नभई सम्पूर्ण देशको कार्यकारी प्रमुख भएको उल्लेख गर्दै काउचाले प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई आग्रह गरिन्।





