मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन्।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। सोही संवैधानिक व्यवस्थाअनुसार मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहित संरक्षण र सशक्तीकरणका लागि भएका संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने कार्यमा आयोगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
उनले संविधानले सुनिश्चित गरेका समान अवसर, सामाजिक न्याय तथा सम्मानजनक सहभागितालाई व्यवहारमा कार्यान्वयन गर्न मुस्लिम आयोगले विशेष योगदान पुर्याउँदै आएको बताए।
मुस्लिम समुदायको अधिकार संरक्षण, सशक्तीकरण तथा राज्यका विभिन्न क्षेत्रमा समान र सम्मानजनक सहभागिता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा सरकारलाई सुझाव दिनु आयोगको प्रमुख संवैधानिक जिम्मेवारीमध्ये एक हो।





