प्रधानमन्त्री शाह र चिनियाँ राजदूत चाङ माओमिङबीच भेट, नेपाल–चीन सहकार्य विस्तारमा जोड

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–चीनबीचको परम्परागत मित्रवत सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। राजदूत चाङले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना दिँदै नेपालसँगको सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने चीनको प्रतिबद्धता व्यक्त गरेका छन्।
दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई व्यावहारिक सहयोगका क्षेत्रमा थप प्रभावकारी बनाउँदै विकास साझेदारीलाई अगाडि बढाउने विषयमा पनि विचार आदानप्रदान गरेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार भेटमा कुनै नयाँ सम्झौता वा परियोजना घोषणा गरिएको छैन।
प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि छुट्टै शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा नेपाल–भारत सम्बन्ध, मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि शाहले काठमाडौंस्थित प्रमुख विदेशी कूटनीतिक प्रतिनिधिसँग छुट्टाछुट्टै औपचारिक भेट शुरु गरेका हुन्। यसअघि उनले विदेशी राजदूत तथा नियोग प्रमुखसँग सामूहिक रूपमा संवाद गरे पनि छुट्टाछुट्टै भेटलाई प्राथमिकता दिएका थिएनन्।
यही कारण सोमबार भारत र चीनका राजदूतसँग भएका छुट्टाछुट्टै भेटलाई प्रधानमन्त्री शाहको कूटनीतिक सम्पर्क शैलीमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण स्थगित हुँदा प्रधानमन्त्रीसँग भेट सुनिश्चित हुन नसकेको विषय पनि सम्भावित कारणका रूपमा चर्चामा आएको थियो। यद्यपि भ्रमण स्थगन हुनुको यही एकमात्र कारण थियो भन्ने आधिकारिक पुष्टि भएको थिएन।
प्रधानमन्त्री शाहले मंगलबार नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग पनि भेट गर्ने कार्यक्रम छ। भारत र चीनका राजदूतसँग सोमबारको संवाद तथा अमेरिकी कूटनीतिक प्रतिनिधिसँग तय भएको भेटले सरकारले प्रमुख अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष कूटनीतिक सम्पर्कलाई क्रमशः सक्रिय बनाउन थालेको संकेत गरेको छ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको केही दिनपछि भएको यो भेटले दुई देशबीचको परम्परागत मित्रता, विकास सहकार्य र भविष्यको साझेदारीलाई थप सक्रिय बनाउने कूटनीतिक महत्वसमेत राखेको छ।





