रवि लामिछानेमा राजनीतिक परिपक्वता देखिँदै गएको छ, बालेन सरकार लामो समय जाँदैन : दाहाल

ड्रागन मिडिया सम्वाददाता
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा तुलनात्मक रूपमा राजनीतिक परिपक्वता देखिँदै गएको बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार भने दिशाहीन बन्दै गएको भन्दै उनले सरकार लामो समय टिक्ने सम्भावना कम रहेको टिप्पणी गरेका छन्।
सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा संसदीय मामिलामा समाचार संकलन गर्ने पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले रास्वपा नेतृत्वसँग आफ्नो नियमित संवाद भइरहेको बताए।
लामिछानेसँग विगतमा आफ्नै नेतृत्वको सरकारमा काम गरेको अनुभव रहेको उल्लेख गर्दै उनले रास्वपाका अन्य नेताहरूसँग पनि राजनीतिक विषयमा संवाद र सल्लाह हुने गरेको बताए।
“पार्टीको नेतृत्व अथवा रवि लामिछाने, सभामुख डीपी अर्याल, विराजभक्त श्रेष्ठ सबै मेरो क्याबिनेटमा बसेका साथीहरू हुनुको नाताले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन,” दाहालले भने। उनले रास्वपा नेतृत्वसँग नियमित संवाद भइरहे पनि प्रधानमन्त्री शाहसँग त्यस्तो संवाद नभएको बताए।
दाहालले प्रधानमन्त्री शाह र लामिछानेको राजनीतिक कार्यशैली तुलना गर्दै लामिछानेमा तुलनात्मक रूपमा बढी राजनीतिक परिपक्वता देखिएको टिप्पणी गरे।
सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद समाधानका लागि लामिछानेले राजनीतिक दलहरूसँग गरेको संवादको पनि दाहालले प्रशंसा गरे। जटिल राजनीतिक तथा सामाजिक समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक हुने उनको भनाइ थियो।
दाहालले यसअघि संसदबाट समेत प्रधानमन्त्री शाहको कार्यशैलीको आलोचना गर्दै संवाद र छलफल गर्दा राजनीतिक नेतृत्व कमजोर नहुने बताएका थिए। उनले प्रधानमन्त्रीलाई अनुभवी व्यक्तिहरूसँग परामर्श गर्न र सरकार सञ्चालनको शैली परिवर्तन गर्न सुझाव दिँदै आएका छन्।
लामिछानेसँगको आफ्नो पुरानो राजनीतिक सम्बन्धको प्रसंग निकाल्दै दाहालले कठिन परिस्थितिमा आफूले उनको पक्षमा सार्वजनिक रूपमा बोलेको स्मरण गरे। उनले लामिछानेलाई कारागारमा भेट्न गएको र बाहिर आएपछि पनि उनको विषयमा सार्वजनिक रूपमा धारणा राखेको उल्लेख गर्दै व्यंग्यात्मक शैलीमा “रविजीले मलाई गुन तिर्नुपर्नेछ” भने।
यसै क्रममा दाहालले वर्तमान सरकारको कार्यदिशामाथि गम्भीर प्रश्न उठाए। उनले सरकारलाई “समुन्द्रमा कम्पास हराएको जहाज”सँग तुलना गर्दै स्पष्ट दृष्टिकोण र योजना नदेखिएको टिप्पणी गरे।
“सरकार समुन्द्रमा कम्पास हराएको जहाजजस्तै दिशाहीन भएको छ। कुनै दृष्टिकोण र योजना छैन। सरकार र रास्वपा नेतृत्वबीच खटपट बढेको देखिन्छ। यो सरकार धेरै लामो समय जाँदैन,” दाहालले भने।
दाहालको पछिल्लो टिप्पणीले प्रधानमन्त्री शाहको कार्यशैली र रास्वपाको आन्तरिक राजनीतिक समन्वयबारे विपक्षी दलहरूले उठाउँदै आएका प्रश्नलाई थप राजनीतिक बहसमा ल्याएको छ।





