गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयासले लोकतन्त्रमै असर पर्न सक्छ : सिटौला

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र स्थापित पद्धतिविपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले यस्तो प्रवृत्तिले नेपाली कांग्रेसलाई मात्र नभई मुलुकको समग्र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिए।
उनले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्दै पार्टीभित्रको विवाद समाधान विधान, प्रक्रिया र संस्थागत पद्धतिअनुसार हुनुपर्नेमा जोड दिए।
“गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ। त्यही बाटोबाट तपाईं हिँडिराख्नुभयो भने नेपाली कांग्रेस पार्टी मात्र होइन, नेपालको लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ,” सिटौलाले भने।
उनले पार्टी नेतृत्वको आलोचना गर्दै आएका समूहको राजनीतिक स्थिरता र कार्यशैलीमाथि पनि प्रश्न उठाए।
सिटौलाले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको समायोजन प्रक्रिया विधिसम्मत रूपमा अघि बढाउन तथा क्रियाशील सदस्यहरूलाई स्थापित प्रक्रिया पूरा गरी मान्यता दिनुपर्ने धारणा राखे।
उनले पार्टीभित्र देखिएका मतभेदलाई असंस्थागत बाटोबाट समाधान गर्न खोज्नु दीर्घकालीन रूपमा कांग्रेस र लोकतान्त्रिक प्रणाली दुवैका लागि हानिकारक हुन सक्ने बताए।





