दमक–चिसोपानी फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालन अनिश्चितकालका लागि रोक

ड्रागन मिडिया सम्वाददाता
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा आजदेखि भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको छ।
माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधनको आवतजावत अर्को सूचना नभएसम्म रोकिएको हो।
अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रअन्तर्गत सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ। क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
कार्यवाहक अध्यक्ष नेम्बाङले क्षतिग्रस्त सडकको मर्मतसम्भार सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको बताए। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको उनले जानकारी दिए।
वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि नियमित रूपमा सञ्चालन हुने दर्जनौँ मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको गाउँपालिकाले जनाएको छ। मर्मतसम्भारको काम नसकिएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको हो।
दमक–चिसोपानी सडक निर्माण शुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण सम्पन्न हुन सकेको छैन। सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यातायात तथा स्थानीय जनजीवन प्रभावित हुँदै आएको छ।
यो सडकले झापा, इलाम र पाँचथरका विभिन्न क्षेत्रलाई जोड्छ। तीन जिल्लाका हजारौँ नागरिकले आवतजावतका साथै कृषि उत्पादन बजारसम्म पुर्याउन यही मार्ग प्रयोग गर्दै आएका छन्। सडक निर्माणमा भएको लामो ढिलाइप्रति स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।





