ब्रोड पिक हिमपहिरोमा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

ड्रागन मिडिया सम्वाददाता
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४:४५ बजे काठमाडौं आइपुग्नेछ।
उनीहरू यही साउन १४ गते ब्रोड पिक क्षेत्रमा गएको हिमपहिरोमा परेका थिए।
सोही दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव भने यसअघि साउन २१ गते नेपाल ल्याइसकिएको छ।
दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको जनाइएको छ।
पाकिस्तानस्थित ब्रोड पिक विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये एक हो। दुर्घटनापछि सम्बन्धित निकायले स्थानीय अधिकारी तथा उद्धार टोलीसँग समन्वय गरी मृतकहरूको शव खोजी तथा स्वदेश फिर्ता ल्याउने प्रक्रिया अघि बढाएका छन्।





