१७ भाद्र २०८३, बुधबार

फेकण्डो भिर चर्किएपछि दोसल्लेका नौ घरपरिवार विस्थापित, थप १८ घर जोखिममा

ड्रागन मिडिया सम्वाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानस्थित फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्ले बस्तीका नौ घरपरिवार विस्थापित भएका छन्। पहिरोको जोखिममा थप १८ घरपरिवार रहेको गाउँपालिकाले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको टोलीले स्थलगत अनुगमन गर्दा चर्किएको भिर जुनसुकै बेला खस्न सक्ने देखिएपछि प्रभावित परिवारका गाईबस्तु तथा घरायसी सामग्रीसमेत सुरक्षित स्थानमा सारिएको उनले बताए।

वडाध्यक्ष मइलन पुर्जा पुनका अनुसार रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनका परिवार घर छाडेर अन्य सुरक्षित स्थानमा बस्न थालेका छन्।

केही दिनअघि फेकण्डो भिरमा चिरा देखिएर ढुङ्गा तथा पहिरो खस्न थालेपछि स्थानीय प्रेमबहादुर पाइजा, खगवीर पाइजा, शेरप्रताप पाइजा र वडा सदस्य बुद्धिवीर पुनसहितको टोलीले क्षेत्र निरीक्षण गरी गाउँपालिका र जिल्ला प्रशासनलाई जानकारी गराएको थियो।

त्यसपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको छ। पहिरोको विस्तृत भूगर्भीय अध्ययनका लागि विशेषज्ञ टोली पठाउन राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरिएको छ। प्रारम्भिक अध्ययनका क्रममा ड्रोन क्यामेरासमेत प्रयोग गरिएको थियो।

फेकण्डो भिर पहाडको शिरमा छ भने त्यसको तल जङ्गल हुँदै दोसल्ले बस्ती रहेको छ। अझ तल कालीगण्डकी नदी किनारमा रघुगङ्गा गाउँपालिका १ को तिप्ल्याङ बजार पर्छ। यसकारण ठूलो पहिरो गएमा बस्ती मात्र होइन, तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनासमेत प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

दोसल्लेका ६९ वर्षीय जितबहादुर पुर्जाका अनुसार उनले बाल्यकालदेखि उक्त क्षेत्र हुँदै घाँसदाउरा तथा लेकबेँसी गर्ने क्रममा आवतजावत गर्दै आए पनि यसअघि भिरमा यस्तो चिरा देखेका थिएनन्। अहिले पहाड विभिन्न स्थानमा चिरिएर ढुङ्गा खस्न थालेपछि स्थानीयवासीमा त्रास बढेको उनले बताए।

स्थानीय रामचन्द्र पुर्जाले भिरबाट खसेका ढुङ्गा सिधै घर र आँगनसम्म आउन थालेपछि सामान सारेर माथिल्लो दोसल्लेमा रहेको गोठमा बस्न थालेको बताए। पानी नपरेका दिनमा मात्र दिउँसो सुन्तला बगैँचामा काम गर्न जाने गरेको उनले जानकारी दिए।

नयाँ पहिरोका कारण भिरखाल्टा टोलका सुन्तला बगैँचासमेत जोखिममा परेका छन्। वडाध्यक्ष पुर्जाका अनुसार ठूलो पहिरो खसेमा तिप्ल्याङ क्षेत्रमा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी जोमसोम कोरला सडक तथा दोसल्ले हुँदै हिस्तान राम्चे जोड्ने सडकमा समेत क्षति पुग्न सक्ने जोखिम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button