हिल्सा भन्सारबाट एक वर्षमा २० लाखभन्दा बढी राजस्व संकलन, लक्ष्यको तीन गुणाभन्दा बढी

ड्रागन मिडिया सम्वाददाता
हुम्लाको यारी नाका अन्तर्गत हिल्सास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। हुम्ला जिल्लाका लागि आवश्यक सामान मात्र आयात हुने उक्त नाकाबाट कार्यालय स्थापना भएयताकै सबैभन्दा बढी राजस्व संकलन भएको हो।
यारी नाका भन्सार कार्यालय हिल्साका प्रमुख रामराज जैसीका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ का लागि ६ लाख ६ हजार ५८० रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। कार्यालयले भने सो अवधिमा २० लाख दुई हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यसअनुसार कार्यालयले निर्धारित लक्ष्यको तीन गुणाभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ।
हिल्सा नाका हुँदै चीनको ताक्लाकोटबाट हुम्ला जिल्लाका लागि आवश्यक सामग्री आयात हुने गरेको छ। पछिल्लो आर्थिक वर्षमा विशेष गरी निर्माण सामग्रीतर्फ सिमेन्ट र छड आयात भएका थिए। त्यसैगरी दूध, चिया, जुस, जुत्ता, ब्लाङ्केट, लगाउने कपडा र खेलौनालगायत उपभोग्य वस्तु पनि आयात भएका थिए।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा भन्सार विभागले कार्यालयलाई ८३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। उक्त वर्ष कार्यालयले छ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकले हिल्सा नाका हुँदै हुने आयात र त्यसबाट संकलित भन्सार राजस्वमा उल्लेखनीय वृद्धि भएको देखाएको छ।





