१७ भाद्र २०८३, बुधबार

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी र निर्देशक नवीन सुब्बालाई प्रदान

ड्रागन मिडिया सम्वाददाता

साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ।

दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा अधिकारी र सुब्बालाई जनही एक लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा मानवीले नेपाली साहित्यको विकास र दुर्गम क्षेत्रका सिर्जनालाई रेडियो नेपालमार्फत आमश्रोतासम्म पुर्‍याउन दाहाल यज्ञनिधिले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

पूर्वमन्त्री पोखरेलले शिक्षा, साहित्य र सञ्चारमार्फत नेपाली भाषा तथा साहित्यको विकासमा दाहालको योगदान अविस्मरणीय रहेको उल्लेख गरे।

सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षणसँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा योगदान पुर्‍याउँदै आएका भवानी अधिकारी तथा नेपाली चलचित्रमा मौलिक सौन्दर्यशास्त्र निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएका निर्देशक नवीन सुब्बालाई यस वर्ष सम्मान गरिएको हो।

अधिकारीका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायत कृति प्रकाशित छन्। उनले विभिन्न साहित्यिक कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादनसमेत गरेका छन्।

विसं २०४० को दशकदेखि पत्रकारिता र चलचित्र समीक्षामार्फत सक्रिय नवीन सुब्बा नेपाली मौलिक चलचित्र निर्माणका अग्रणी निर्देशक मानिन्छन्। उनले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गुडबाइ काठमाडौं’, ‘सिंहदरबार २’ र ‘गाउँ आएको बाटो’ लगायत चलचित्र तथा श्रृंखला निर्देशन गरेका छन्। उनी हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन्।

दाहाल यज्ञनिधिका नाममा स्थापित सुधा सदनमा ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा बालप्रतिभालाई सम्मान प्रदान गरिँदै आएको छ।

यस वर्ष ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय अर्थात दरबार हाइस्कुलको कक्षा ८ मा नेपाली विषयमा चार जिपिए प्राप्त गर्ने आराध्या सिंह, प्रतिक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपसना बज्राचार्य र सफलबहादुर खड्कालाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही २० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।

विसं २०१० साउन ८ गते खोटाङमा जन्मिएका दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। साहित्य, अध्यापन र सञ्चार क्षेत्रमा सक्रिय उनका ‘जदौका निबन्ध’, ‘जदौका ३४ निबन्ध’, ‘खुला आकाश’, ‘दाहाल यज्ञनिधिका कविता’ लगायत कृति प्रकाशित छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button