१९ भाद्र २०८३, शुक्रबार

सरकारी र निजी उद्योगलाई समान प्रतिस्पर्धाको वातावरण दिनुपर्छ: अञ्जन श्रेष्ठ

ड्रागन मिडिया सम्वाददाता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योगलाई मात्र प्राथमिकता दिने र समस्याग्रस्त निजी उद्योगलाई बेवास्ता गर्ने नीति स्वीकार्य नहुने बताएका छन्।

मंगलबार काठमाडौंमा शुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ को उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नुभन्दा निजी क्षेत्रलाई प्रतिस्पर्धी बन्न सक्ने अनुकूल वातावरण निर्माणमा जोड दिनुपर्ने बताए।

सरकारी उद्योगलाई अनुदान उपलब्ध गराउने तर निजी उद्योगलाई आफ्नै स्रोतमा प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति उचित नहुने उनको भनाइ थियो। सरकारी र निजी क्षेत्रका उद्योगलाई समान प्रतिस्पर्धाको अवसर उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै उनले बन्द तथा समस्याग्रस्त निजी उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले सहजीकरण गर्नुपर्ने बताए।

“सरकारी उद्योग सञ्चालन गर्ने प्रयास स्वागतयोग्य छ, तर त्यससँगै वर्षौँदेखि बन्द रहेका निजी क्षेत्रका उद्योगलाई पुनर्जीवन दिने नीति पनि समान रूपमा अघि बढ्नुपर्छ,” श्रेष्ठले भने।

उनले अटोमोबाइल क्षेत्रमा नक्कली पार्टपुर्जा र ब्याट्रीको आयात बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। यस्ता वस्तुको आयात र बजारमा हुने बिक्रीवितरण नियन्त्रणका लागि भन्सार विभाग, यातायात व्यवस्था विभागलगायत सम्बन्धित सरकारी निकायले प्रभावकारी निगरानी गर्नुपर्ने उनको भनाइ थियो।

रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै श्रेष्ठले मुलुकको कुल रोजगारीमा निजी क्षेत्रको हिस्सा करिब ८६ प्रतिशत रहेको बताए। उनका अनुसार वार्षिक पाँचदेखि छ लाख युवा श्रम बजारमा प्रवेश गर्ने गरेका छन्, तर सरकारले सीमित सङ्ख्यालाई मात्र प्रत्यक्ष रोजगारी उपलब्ध गराउन सक्ने भएकाले बाँकी ठूलो हिस्साको रोजगारी निजी क्षेत्रले धानिरहेको छ।

श्रेष्ठले नेपालमा उपभोग हुने वस्तुमध्ये करिब ७० प्रतिशत आयातमा निर्भर रहेको र करिब ३० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट आपूर्ति भइरहेको उल्लेख गरे। आयातमा रहेको उच्च निर्भरता घटाउँदै स्वदेशी उत्पादन र औद्योगिक विस्तार बढाउन सरकारले नयाँ रणनीति र निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्नुपर्ने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button