रोहित पौडेल एकदिवसीय कप्तानीबाट हटाइए, सन्दीप लामिछाने पुनः कप्तान

ड्रागन मिडिया सम्वाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको छ।
कप्तानी परिवर्तनसँगै क्यानले पौडेलको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गरेको छ। क्यानले ‘एक पटकको नेता, सधैंको नेता’ भन्ने भावसहित पौडेलको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि अविस्मरणीय रहने जनाएको छ।
“एउटा राष्ट्रको आशा र भरोसा बोकेर नेपाली क्रिकेटलाई जोश, समर्पण र अटल दृढताका साथ नेतृत्व गरेकोमा तपाईंलाई हृदयदेखि धन्यवाद,” क्यानको वक्तव्यमा भनिएको छ।
क्यानका अनुसार पौडेलको कप्तानीमा नेपालले हासिल गरेका उपलब्धि नेपाली क्रिकेटको यात्रामा सधैं गर्वका साथ सम्झिइनेछन्। टोली, देश र क्रिकेटप्रति उनले देखाएको प्रतिबद्धतालाई प्रेरणादायी भन्दै आगामी दिनमा पनि त्यही जोश र समर्पणका साथ नेपालका लागि योगदान जारी राख्ने विश्वास क्यानले व्यक्त गरेको छ।
पछिल्लो समय नेपाली एकदिवसीय टोलीको लगातार कमजोर प्रदर्शनपछि क्यानले कप्तानी परिवर्तन गर्ने निर्णय गरेको हो। पौडेल भने राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीका रूपमा निरन्तर रहनेछन्।
क्यानले यसअघि बलात्कारको आरोप लागेपछि कप्तानीबाट हटाइएका लामिछानेलाई पुनः कप्तानको जिम्मेवारी दिएको हो। उनी यसअघि पनि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन्।
लामिछानेलाई सन् २०२२ मा बलात्कारको आरोप लागेपछि क्यानले कप्तानीबाट हटाउँदै निलम्बन गरेको थियो। पछि पाटन उच्च अदालतले प्रमाण अपर्याप्त रहेको आधारमा उनलाई आरोपबाट सफाइ दिएपछि क्यानले निलम्बन फुकुवा गरेको थियो।
कप्तानीमा पुनरागमनसँगै लामिछाने अब नेपाली एकदिवसीय टोलीको नेतृत्व गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा जानेछन्।





