१९ भाद्र २०८३, शुक्रबार

चितवनमा ८०२ घरमा ग्यास सिलिण्डर पुर्‍याउन प्रशासनको सहजीकरण, बजार अनुगमन तीव्र

ड्रागन मिडिया सम्वाददाता

चितवन जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यास अभावको गुनासो गरेका ८०२ उपभोक्ताको घरमै ग्यास सिलिण्डर पुर्‍याउन सहजीकरण गरेको छ।

असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। प्रशासनको टोल फ्री नम्बरमा पछिल्लो एक सातामा ग्यास अभावसम्बन्धी गुनासो दर्ता गराएका उपभोक्तालाई उक्त सुविधा दिइएको हो।

भरतपुरसहित पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास सिलिण्डर पुर्‍याइएको छ। ग्यास अभाव भएका आश्रममा समेत सम्बन्धित स्थानमै सिलिण्डर उपलब्ध गराइएको प्रशासनले जनाएको छ।

उद्योगबाट पर्याप्त ग्यास बजारमा पठाइएको भनिए पनि डिपो हुँदै उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो बढेपछि प्रशासनले ग्यास उद्योगदेखि खुद्रा विक्रेतासम्मको वितरण प्रणाली अनुगमन शुरु गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा परिचालन गरिएको छ। उद्योगीले पर्याप्त ग्यास वितरण गरिएको बताए पनि उपभोक्ता लामो लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि वितरण श्रृंखलामै समस्या रहे वा नरहेको अध्ययन गर्न अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

जिल्लामा मासिक करिब एक लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्ने अनुमान छ। हाल दैनिक छदेखि सात हजार सिलिण्डर हाराहारी वितरण भइरहे पनि बजारमा सहज आपूर्ति हुन नसकेको प्रशासनको भनाइ छ।

चितवनमा साईबाबा, बाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगले स्थानीय डिलरसँगै अन्य जिल्लामा पनि ग्यास पठाउँदै आएका छन्।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार उद्योगबाट भरिएका सिलिण्डरमध्ये करिब आधा चितवन र आधा अन्य जिल्लामा पठाइने गरिएको छ।

भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि ग्यास बुलेटले हाल पारादीपबाट ग्यास भर्नुपरेको उद्योगीहरूले बताएका छन्। दुर्गापुर पुग्न करिब दुई दिन लाग्ने भए पनि पारादीप पुग्न चार दिन लाग्ने भएकाले आपूर्ति चक्र प्रभावित भएको कालाखेतीको भनाइ छ।

उनका अनुसार बरौजी रिफाइनरीबाट समेत अपेक्षाअनुसार ग्यास नआएको र बजार माग बढेकाले समस्या थपिएको छ। केही समयका लागि आधा सिलिण्डर भर्ने व्यवस्था गर्ने वा बरौजीबाट उपलब्ध हुने कोटा अस्थायी रूपमा बढाउन सके आपूर्ति सहज हुन सक्ने उद्योगीहरूको सुझाव छ।

प्रशासनले उपभोक्तालाई आवश्यकताअनुसार मात्र सिलिण्डर साट्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button