सिटिइभिटीका करार तथा ज्यालादारी श्रमिकद्वारा केन्द्रीय कार्यालय घेराउ

ड्रागन मिडिया सम्वाददाता
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले रोजगारी सुरक्षा, सेवा निरन्तरता र सेवा–सुविधाको सुनिश्चितता माग गर्दै सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले हाल कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था गर्नुपर्ने, रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा फर्काउनुपर्ने र करार कर्मचारीलाई दसैं पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ।
समितिले मासिक ज्यालादारी कर्मचारीलाई यथावत अवस्थामा काम गर्न दिनुपर्ने, पोशाकलगायतका सुविधा उपलब्ध गराउनुपर्ने र उनीहरूको सेवाको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने जनाएको छ।
आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न पनि समितिले व्यवस्थापनसँग माग गरेको छ।
श्रमिकहरूले आफ्ना मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको स्पष्ट समयसीमा र कार्ययोजना माग गरेका छन्। उनीहरूले व्यवस्थापनसँग टकरावभन्दा संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन्।
समितिले माग सम्बोधन नभएसम्म खबरदारी तथा दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएको छ।





