१९ भाद्र २०८३, शुक्रबार

नेपाली सेना परिचालनको संवैधानिक आधारबारे संसदमा प्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग

ड्रागन मिडिया सम्वाददाता

नेपाली सेनालाई पछिल्लो समय विभिन्न स्थानमा गरिएको परिचालनको संवैधानिक तथा कानुनी आधारबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले काठमाडौंका सुकुमवासी बस्ती खाली गर्ने क्रममा तथा सुनसरी, सिरहालगायतका जिल्लामा उत्पन्न तनावका बेला नेपाली सेना परिचालन गरिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्।

उनले नेपाली सेना परिचालनका लागि संविधान र कानुनले निश्चित प्रक्रिया तथा आधार निर्धारण गरेको उल्लेख गर्दै पछिल्ला परिचालन कुन संवैधानिक र कानुनी व्यवस्थाअन्तर्गत गरिएको हो भन्ने प्रश्न गरे।

“नेपाली सेनालाई परिचालन गर्ने हाम्रो संवैधानिक व्यवस्था छ, कानुनी व्यवस्था छ। नेपाली सेनालाई यति सस्तो र सहज रूपमा के संवैधानिक व्यवस्थाको आधारमा, के कानुनी व्यवस्थाको आधारमा परिचालन गरिन्छ? सेनाको मर्यादालाई घटाइराखिएको छ,” शर्माले संसदमा भने।

काठमाडौंमा सुकुमवासी बस्ती खाली गर्ने क्रममा नेपाली सेनाले गस्ती गरेको थियो। त्यस्तै, पछिल्लो समय सुनसरी र सिरहालगायतका जिल्लामा विवाद तथा तनावपछि कर्फ्यु जारी गरिएका बेला पनि सेना परिचालन गरिएको थियो।

सांसद शर्माले यस्ता घटनामा सेनाको प्रयोग नियमित प्रशासनिक विकल्पका रूपमा हुन नहुने संकेत गर्दै त्यसको संवैधानिक औचित्य स्पष्ट गर्न सरकारलाई आग्रह गरे।

नेपाली कम्युनिस्ट पार्टीले रक्षा मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले यस विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button