१९ भाद्र २०८३, शुक्रबार

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया स्थगित गर्न संस्थापन इतरपक्षको माग

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद पुनरवलोकनका लागि अघि बढेको अवस्थामा १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया स्थगित गर्न माग गरेको छ।

कांग्रेसका पूर्वमहामन्त्री तथा ‘राष्ट्रिय भेला आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले पार्टीका सम्पूर्ण सांगठनिक, नीतिगत तथा असोजमा निर्धारित १५औँ महाधिवेशनसम्बन्धी गतिविधि यथास्थितिमा राख्न माग गर्दै केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको पत्रमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट साउन २२ गते मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति अर्थात ‘निस्सा’ जारी भइसकेकाले पार्टीको नेतृत्व र संरचनाको वैधानिकतामाथि कानुनी प्रश्न कायम रहेको उल्लेख गरिएको छ।

डा. कोइरालाद्वारा हस्ताक्षरित पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय नगर्न तथा पार्टीका सम्पूर्ण संरचनालाई साविककै अवस्थामा राख्न माग गरिएको छ।

पत्रको बोधार्थ तत्कालीन महामन्त्री गगनकुमार थापासहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका र वडा कार्यसमिति तथा निर्वाचन आयोगलाई समेत दिइएको छ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी सांगठनिक वा महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाइए त्यसबाट उत्पन्न हुन सक्ने अदालतको अवहेलना वा अन्य कानुनी प्रतिकूलताको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनी पनि पत्रमा दिइएको छ।

संस्थापन इतरपक्षले अदालतबाट अन्तिम निर्णय नआएसम्म महाधिवेशन प्रक्रिया अघि बढाउनु पार्टीको वैधानिकता र भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले सबै गतिविधि स्थगित गरी यथास्थिति कायम राख्नुपर्ने अडान लिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button