१७ भाद्र २०८३, बुधबार

माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि, किसान अझै लागतभन्दा कम मूल्यमा

ड्रागन मिडिया सम्वाददाता

बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको छ। सङ्घले मंगलबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

सङ्घका अनुसार एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट अर्थात ३० वटाको ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ र मिडियम अण्डाको ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य सात क्रेट रहने एक पेटीको तीन हजार रुपैयाँ तोकिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमणपछि ठूलो सङ्ख्यामा कुखुरा मरेर उत्पादन घटेको र पछिल्लो समय बजारमा माग बढेकाले अण्डाको मूल्य वृद्धि भएको हो। फार्महरूले उपलब्ध गराएको मूल्यका आधारमा सङ्घले समर्थन मूल्य निर्धारण गरेको उनले बताए।

मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको पोखरेलको भनाइ छ। सङ्घका अनुसार एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पर्ने भएकाले ३० वटा अण्डाको एक क्रेटको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पर्छ। यस आधारमा सबैभन्दा ठूलो एक्सएल अण्डाको नयाँ समर्थन मूल्यसमेत उत्पादन लागतभन्दा कम छ।

बर्डफ्लुका कारण पछिल्लो समय कुखुरापालक किसानले ठूलो आर्थिक क्षति व्यहोरेका छन्। रोगका कारण कुखुरा मर्नु, उत्पादन घट्नु र लामो समयसम्म अण्डाको लागतअनुसार मूल्य नपाउँदा धेरै किसान आर्थिक दबाबमा परेको व्यवसायीहरूको भनाइ छ।

लागत मूल्य नपाउँदा पछिल्ला केही वर्षदेखि केही किसान कुखुरापालन व्यवसायबाटै पलायन हुन थालेका छन् भने व्यवसायमा रहेका किसानसमेत बैंक ऋणमा निर्भर हुनुपर्ने अवस्था बढेको छ।

पोखरेलका अनुसार बर्डफ्लुका कारण केही किसानका कुखुरा मरेर प्रत्यक्ष क्षति भएको छ भने कुखुरा जोगिएका किसानले समेत अण्डाको उचित मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। पछिल्लो मूल्यवृद्धिले केही राहत दिने भए पनि किसानको उत्पादन लागत सुनिश्चित हुने स्तरमा मूल्य पुग्न अझै बाँकी रहेको सङ्घको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button