बेइजिङमा दोस्रो उच्चस्तरको बाढी आपतकालीन प्रतिक्रिया सक्रिय, उच्च जोखिम क्षेत्रबाट स्थानीयलाई सारिँदै

ड्रागन मिडिया समाचार कक्ष
चीनको राजधानी बेइजिङले भारी वर्षा, शहरी डुबान र पहिरोको जोखिम बढेपछि मंगलबार दोस्रो उच्चस्तरको बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया अर्थात स्तर दुई सक्रिय गरेको छ।
बेइजिङ मौसम सेवाका अनुसार मंगलबार साँझदेखि बिहीबारसम्म शहरका अधिकांश क्षेत्रमा छ घण्टाभित्र १०० मिलिमिटरभन्दा बढी र २४ घण्टाभित्र १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बेइजिङले सोमबार बिहान १० बजे भारी वर्षाका लागि सुन्तला रङको चेतावनी जारी गरेको थियो। फाङशान, तासिङ र थोङचौलगायत केही जिल्लाले भने सबैभन्दा उच्च स्तरको रातो चेतावनी जारी गरेका छन्।
अधिकारीहरूले उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई मंगलबार साँझसम्म सुरक्षित स्थानमा सारिने जनाएका छन्। निर्माण कार्य स्थगित गरिनेछ भने पहाडी क्षेत्रमा रहेका शिविर तथा पर्यटकीय स्थल बन्द गरिनेछन्।
बुधबारदेखि रोजगारदातालाई लचिलो कार्यसमय वा फरक फरक समयमा कार्यालय सञ्चालन गर्ने व्यवस्था अपनाउन प्रोत्साहित गरिएको छ। मौसमको अवस्थाअनुसार विद्यालयले कक्षा तथा प्रत्यक्ष प्रशिक्षण स्थगित गर्न सक्नेछन् भने संगठित बाह्य खेलकुद गतिविधि बन्द गरिनेछ।
बेइजिङका ढल निकाससम्बन्धी निकायले २५२ वटा बाढी नियन्त्रण टोलीलाई तयारी अवस्थामा राखेको छ। ३६८ वटा मेट्रो स्टेशन, ३३ वटा अस्पताल परिसर र १७ वटा ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा बाढी रोकथामका अवरोधकसहित अतिरिक्त तयारी गरिएको छ।
अत्यधिक वर्षाको पूर्वानुमान गरिएको फाङशान जिल्लामा अधिकारीहरूले उच्च जोखिम क्षेत्रमा रहेका बासिन्दालाई वर्षा शुरु हुनुअघि नै सुरक्षित स्थानमा सार्न थालेका छन्। उद्धार टोली र आपतकालीन सामग्री परिचालन गरिएको छ भने एक लाख ५० हजारभन्दा बढी आपतकालीन उपकरण तथा सामग्री तयारी अवस्थामा राखिएको छ।
यसैबीच, यस वर्षको १३औँ आँधी ‘डल्फिन’ आइतबार चच्याङ प्रान्तमा दुई पटक स्थल प्रवेश गरेको थियो। चीनको राष्ट्रिय मौसम केन्द्रले मंगलबार भारी वर्षाका लागि सुन्तला रङको चेतावनी कायम राख्दै बुधबार दिउँसोसम्म चच्याङ, शाङहाई, शानतोङ, बेइजिङ र थ्यानचिनसहित देशको ठूलो भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
फुच्यान प्रान्तमा सोमबार बिहान ७ बजेसम्म स्थल तथा समुद्री जोखिम क्षेत्रमा रहेका करिब एक लाख ६७ हजार ९०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। शाङहाईमा पनि आइतबार रातिसम्म जोखिमयुक्त क्षेत्रका करिब दुई लाख १५ हजार ६०० जनालाई स्थानान्तरण गरिएको जनाइएको छ।





