रुसका विभिन्न क्षेत्रमा एक सातामा ४३ सर्वसाधारणको मृत्यु, ३७६ घाइते भएको रुसी अधिकारीको दाबी

ड्रागन मिडिया समाचार कक्ष
रुसका विभिन्न क्षेत्रमा अगस्ट ३ देखि ९ सम्म भएका युक्रेनी आक्रमणमा ४३ सर्वसाधारणको मृत्यु भएको र ३७६ जना घाइते भएको रुसको विदेश मन्त्रालयका विशेष जिम्मेवारीसम्बन्धी राजदूत रोडियोन मिरोश्निकले बताएका छन्।
मिरोश्निकका अनुसार मृत्यु हुनेमा चार बालबालिका र घाइतेमध्ये २४ बालबालिका रहेका छन्। सात दिनको अवधिमा कुल ४१९ सर्वसाधारण प्रभावित भएको उनको भनाइ छ।
रुसी अधिकारीले उक्त अवधिमा युक्रेनी पक्षबाट रुसको भूभागमा नागरिक लक्ष्यतर्फ कम्तीमा सात हजार ६१ वटा विभिन्न प्रकारका गोलाबारुद तथा हतियार प्रहार गरिएको दाबी गरेका छन्। औसतमा दैनिक एक हजारभन्दा बढी प्रहार भएको उनले बताए।
उनका अनुसार सबैभन्दा गम्भीर घटनामध्ये क्रास्नोदार क्षेत्रको आर्खिपो–ओसिपोभ्कास्थित मानिसको भीड रहेको समुद्री तटमा भएको ड्रोन आक्रमण थियो। उक्त घटनामा सर्वसाधारणको मृत्यु र घाइते भएको रुसी पक्षले जनाएको छ।
मस्को क्षेत्रसमेत ठूलो संख्यामा ड्रोन आक्रमणको निशानामा परेको बताइएको छ। चेखोभ नगरपालिका जिल्लाका आवासीय क्षेत्र तथा औद्योगिक क्षेत्रमा भएका आक्रमणमा सर्वसाधारणको मृत्यु र घाइते भएको मिरोश्निकले जनाएका छन्।
यसैबीच, महत्वपूर्ण विद्युत सबस्टेशनमाथि भएका लगातार आक्रमणका कारण क्रिमियामा चरणबद्ध विद्युत कटौती भएको, खेरसोन क्षेत्रमा लामो समय विद्युत अवरुद्ध भएको र जापोरिझिया क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएपछि प्राविधिक आपतकालीन अवस्था लागू गर्नुपरेको रुसी पक्षको दाबी छ।
रुसी विवरणअनुसार युद्धक्षेत्रबाट टाढा रहेका १६ क्षेत्रमा आवासीय बस्ती, औद्योगिक तथा रसद केन्द्र र पूर्वाधार संरचनामाथि आक्रमण भएका थिए।
बेलगोरोद, क्रास्नोदार, डोनेत्स्क, जापोरिझिया र खेरसोन क्षेत्रमा सर्वसाधारणको सबैभन्दा बढी हताहती भएको मिरोश्निकले बताए।
रुसी पक्षले यी घटनालाई नागरिकमाथिका आक्रमणका रूपमा प्रस्तुत गरेको छ। युक्रेनी पक्षबाट यी सबै घटनासम्बन्धी विस्तृत प्रतिक्रिया उपलब्ध नभएकाले हताहती, प्रहारको संख्या र लक्ष्यसम्बन्धी विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी छ।





