निझनेकाम्स्क आक्रमणमा १३ जनाको मृत्यु, अधिकांश विदेशी नागरिक रहेको रुसी विदेश मन्त्रालयको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
रुसको तातारस्तानस्थित निझनेकाम्स्कमा अगस्ट १० मा भएको आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश विदेशी नागरिक रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार प्रारम्भिक विवरणमा मृत्यु हुनेमध्ये आठ जना उज्बेकिस्तान र एक जना ताजिकिस्तानका नागरिक रहेका छन्। घटनामा करिब २० विदेशी नागरिक घाइते भएको पनि उनले बताइन्।
रुसी पक्षले आक्रमण निझनेकाम्स्कस्थित नागरिक संरचनालाई लक्षित गरी युक्रेनी पक्षबाट गरिएको दाबी गरेको छ। जाखारोभाले रुससँग मित्रवत सम्बन्ध भएका देशका नागरिक बसोबास तथा काम गर्ने स्थानलाई जानाजान निशाना बनाइएको आरोप लगाउँदै यसको उद्देश्य रुस र ती मुलुकबीचको सम्बन्ध कमजोर पार्नु रहेको बताइन्।
उनले पछिल्ला यस्ता आक्रमणमा रुसी सर्वसाधारणसँगै विदेशी नागरिकसमेत मारिएको उल्लेख गरिन्।
रुसी विदेश मन्त्रालयले मृतकका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई घटनाको निन्दा गर्नसमेत आह्वान गरेको छ।
रुसी अधिकारीहरूले घटनालाई आतंकवादी आक्रमणका रूपमा वर्णन गरेका छन्। आक्रमणको प्रकृति, लक्ष्य तथा जिम्मेवारीसम्बन्धी थप विवरण भने सम्बन्धित अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।





