‘जय नेपाल पार्टी’ दर्ता अघि नै धवलशम्शेर–प्रसाईं पक्षबीच मतभेदको चर्चा

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका डा. धवलशम्शेर राणा र अभियन्ता दुर्गा प्रसाईंको सहकार्यमा गठन गर्न लागिएको ‘जय नेपाल पार्टी’ औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुनुअघि नै दुई पक्षबीच केही विषयमा मतभेद देखिएको दाबी सार्वजनिक भएको छ।
डा. राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ रहने गरी नयाँ पार्टी गठन गर्ने समझदारी भएको थियो। पार्टी साउन २८ गते निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहे पनि उक्त कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ।
प्रसाईंले सामाजिक सञ्जालमार्फत पार्टी गठन, सांगठनिक संरचना तथा अन्य आवश्यक विषयमा तयारी पूरा नभएकाले दर्ताको मिति सारिएको जानकारी दिएका छन्। सम्पूर्ण तयारी पूरा भएपछि नयाँ मिति आधिकारिक रूपमा सार्वजनिक गरिने उनको भनाइ छ।
तर धवलशम्शेर पक्षनिकट एक नेताले यसअघि सहमति भइसकेका केही विषयमा प्रसाईं पक्षबाट नयाँ शर्त अघि सारिएपछि दर्ता प्रक्रिया प्रभावित भएको दाबी गरेका छन्।
उनका अनुसार पार्टीभित्रको वरियता, आगामी निर्वाचनपछि संसदीय दलको नेतृत्व तथा उम्मेदवारलाई टिकट वितरण गर्दा हस्ताक्षर अधिकार कसको रहने भन्ने विषयमा थप छलफल आवश्यक देखिएको छ। यसअघि प्रसाईंलाई डा. राणापछिको हैसियतमा ‘सर्वोच्च नेता’ राख्ने तथा आगामी निर्वाचनपछि संसदीय दलको नेता बनाउने समझदारी भएको ती नेताको दाबी छ।
धवलशम्शेर पक्षले प्रसाईं पक्षबाट पहिलो वरियता तथा निर्वाचन टिकटमा प्रसाईंको समेत हस्ताक्षर हुनुपर्ने प्रस्ताव आएको दाबी गरेको छ। यस्ता विषयमा सहमति नबने एकता प्रक्रियामै असर पर्न सक्ने उक्त पक्षको आशंका छ।
प्रसाईं पक्षले भने दुई समूहबीच कुनै दरार उत्पन्न भएको दाबी अस्वीकार गरेको छ। प्रसाईं पक्षका नेता माधव निर्दोषले एकता प्रक्रिया निरन्तर चलिरहेको र कार्यदलस्तरमा छलफल जारी रहेको बताएका छन्।
उनले साउन २८ गते पार्टी दर्ता गर्ने कार्यक्रम स्थगित हुनुको कारण आन्तरिक विवाद नभई उक्त दिन उपयुक्त साइत नरहेको भन्ने ज्योतिषीय सुझाव रहेको बताएका छन्।
यसरी दुवै पक्षबाट पार्टी दर्ता स्थगित हुनुका कारणबारे फरक धारणा सार्वजनिक भएका छन्। यद्यपि नयाँ पार्टीको नेतृत्व संरचना, वरियता, निर्वाचनसम्बन्धी अधिकार र औपचारिक दर्ताको नयाँ मितिबारे अन्तिम निर्णय सार्वजनिक हुन बाँकी छ।





