१९ भाद्र २०८३, शुक्रबार

मन्त्रीपरिषदका पाँच निर्णय: विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट, चार जना सहिद घोषणा

ड्रागन मिडिया सम्वाददाता

आज बसेको मन्त्रीपरिषद बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्नेसहित पाँच वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

त्यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय भएको छ। सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादव रहेका छन्।

मन्त्रीपरिषदले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ।

बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसैगरी, पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button