नेपाल–अष्ट्रेलिया संसदीय सहकार्य थप विस्तार गर्ने राजदूत अर्न्स्टको प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले नेपालसँगको संसदीय सहकार्य तथा जनस्तरीय सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग मंगलबार भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
भेटमा राजदूत अर्न्स्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य र जनस्तरीय सम्बन्धले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायत क्षेत्रमा दुई देशबीच हुँदै आएको साझेदारीलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सभामुख अर्यालले संघीय संसदले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै उक्त समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए।
उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे। विशेषगरी अष्ट्रेलिया अवार्ड छात्रवृत्ति, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा पुर्याएको योगदानप्रति उनले आभार व्यक्त गरे।
भेटमा जनस्तरीय सम्बन्धलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधारका रूपमा चर्चा गरिएको थियो। सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा बसोबास गर्ने नेपाली समुदायले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।





