कर्णालीमा एलपी ग्यास अभाव, पाँच दिन लाइन बस्दा पनि नपाएको उपभोक्ताको गुनासो

ड्रागन मिडिया सम्वाददाता
कर्णाली प्रदेशमा पनि खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिएको छ। सुर्खेतका उपभोक्ताले पाँच दिनसम्म लाइनमा बस्दासमेत ग्यास नपाएको गुनासो गरेका छन्।
ग्यास लिन घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिका लागि भने लाइन बस्नुनपर्ने विशेष व्यवस्था गरिएको छ।
सम्बन्धित परिचयपत्र तथा आवश्यक कागजात पेस गरेपछि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा उनीहरूले सम्बन्धित ग्यास सप्लायर्सबाट सिलिण्डर लिन सक्ने व्यवस्था गरिएको हो।
वीरेन्द्रनगरमा ग्यास वितरण गर्ने प्रत्येक सप्लायर्सले दैनिक वितरण हुनेमध्ये १० वटा सिलिण्डर ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिका लागि छुट्याउनुपर्नेछ। यहाँ दैनिक छदेखि आठ वटा सप्लायर्समार्फत ग्यास वितरण हुँदै आएको छ।
यो सुविधा लिन ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्रको प्रतिलिपि, सुत्केरीले अस्पतालबाट जारी भएको दुई महिनाभित्रको सुत्केरी कार्ड र अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार लाइनमा बस्न कठिन हुने नागरिकलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि यो व्यवस्था शुरु गरिएको हो।
सुर्खेतमा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने र कतिपय अवस्थामा पाँच दिनसम्म प्रतीक्षा गर्दासमेत सिलिण्डर नपाएको गुनासो गरेका छन्। यसले बजारमा आपूर्ति तथा वितरण व्यवस्थापनमाथि प्रश्न उठाएको छ।





