कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाख रुपैयाँ बरामद, एक जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरबाट प्रहरीले स्रोत खुल्न नसकेको करिब ७६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहा रहेका छन्। उनी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त रकम बरामद गरेको हो।
काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार बरामद गरिएको रकम गणना गरी यकिन गर्ने काम भइरहेको छ। “गणना गरेर रकम यकिन गर्दैछौँ,” उनले बताए।
प्रहरीले आँचल फ्रुट सेन्टरबाट १० लाख ७० हजार रुपैयाँ बरामद गरेको छ भने बाँकी रकम तुरहाको डेराबाट फेला पारेको जनाइएको छ।
उनको डेराबाट नेपाली रुपैयाँसँगै लुकाएर राखिएको अवस्थामा ३ लाख ४ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको प्रहरी श्रोतले जनाएको छ।
बरामद रकमको स्रोत, प्रयोजन र कारोबारसँग सम्बन्धित अन्य पक्षबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।





