नेपाल–रुस मित्रताको नयाँ अध्याय: काठमाडौंमा नेपाल–रुस युवा क्लब स्थापना

ड्रागन मिडिया सम्वाददाता
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइँदै गर्दा काठमाडौंस्थित रसियन हाउसमा मंगलबार नेपाल–रुस युवा क्लबको औपचारिक उद्घाटन गरिएको छ।
दुई देशबीच लामो समयदेखि कायम मित्रतालाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यले स्थापना गरिएको क्लबले विज्ञान, प्रविधि, शिक्षा, संस्कृति, नवप्रवर्तन, उद्यमशीलता र व्यावसायिक विकासका क्षेत्रमा रुचि राख्ने नेपाली युवालाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
नेपाल–रुस युवा क्लबलाई युवाले आफ्ना विचार र परियोजना विकास गर्न, समान रुचि भएका साथी तथा संस्थासँग सम्पर्क विस्तार गर्न, अनुभव आदानप्रदान गर्न र नयाँ सहकार्य निर्माण गर्न सक्ने खुला तथा गतिशील मञ्चका रूपमा विकास गर्ने योजना रहेको जनाइएको छ। क्लबले नेपाल र रुसको समृद्ध सांस्कृतिक तथा बौद्धिक सम्पदाको अध्ययन र आदानप्रदानलाई समेत प्राथमिकता दिनेछ।
उद्घाटन समारोहमा पूर्वमन्त्री तथा नेपाल–रुस विज्ञान तथा प्रविधि समाजका अध्यक्ष गणेश शाह, मित्रकुञ्जका उपाध्यक्ष तथा नेपाल–रुस साहित्य समाजका महासचिव रामबिन्दु श्रेष्ठ, नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका महासचिव स्वराज शाक्य, नेपाल–रुस युवा क्लबका अध्यक्ष शाश्वत गुरागाईं र क्लबका संरक्षक सम्राट गौचनलगायतको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले नेपाल र रुसबीच कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा स्थापना गरिएको नेपाल–रुस युवा क्लबले दुई देशबीचको मित्रताको इतिहासमा नयाँ र सम्भावनायुक्त अध्याय शुरु गरेको बताइन्।
उनले रसियन हाउस नेपाली युवा र उनीहरूका पहलका लागि खुला रहेको उल्लेख गर्दै युवाले आफ्नो सीप विकास गर्न, नेपालका लागि उपयोगी परियोजना अघि बढाउन तथा रुस, युरेशिया र अन्य अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क निर्माण गर्न सक्ने बताइन्।
युवाले फेसन, कृषि प्रविधि, संगीत, नृत्य वा अन्य कुनै क्षेत्रमा नयाँ अवधारणा ल्याए पनि रसियन हाउसले त्यसलाई अघि बढाउन सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। अनुभवको अभाव, विश्वविद्यालयसँग सम्पर्कको आवश्यकता वा अनुदान खोज्न सहयोग चाहिएको अवस्थामा पनि प्रारम्भिक चरणदेखि सहजीकरण गर्न सकिने उनले बताइन्।
खोख्लोभाले युवालाई योजना बनाउने र औपचारिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यमा मात्र सीमित नराखी उनीहरूले वास्तवमै रुचि राख्ने क्षेत्रका परियोजनालाई जीवन्त बनाउन सहयोग गर्ने उद्देश्य रहेको स्पष्ट गरिन्।
उनका अनुसार रसियन हाउसमार्फत युवाले रुसी विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर अध्ययनका छात्रवृत्ति कार्यक्रम, अन्तर्राष्ट्रिय युवा महोत्सव, विशेष सम्मेलन तथा सञ्चारकर्मी, ब्लगर, अनुसन्धानकर्ता र विभिन्न व्यावसायिक समुदायका लागि आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागितासम्बन्धी जानकारी पनि प्राप्त गर्न सक्छन्।
रसियन हाउसलाई युवाले ज्ञान हासिल गर्ने स्थलमा मात्र सीमित नराखी साझेदार खोज्न, आफ्नै परियोजना विकास गर्न र दीर्घकालीन सहकार्यका कार्यक्रम निर्माण गर्न सक्ने मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताइन्।
कार्यक्रममा सहभागी अतिथिहरूले क्लब स्थापनाप्रति बधाई दिँदै यसको गतिविधिमा सहयोग गर्ने, अनुभव आदानप्रदान गर्ने तथा नेपाल र रुसबीच युवा, शिक्षा, विज्ञान, प्रविधि र सांस्कृतिक सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा गरेको अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई केवल विगतको उपलब्धिका रूपमा स्मरण नगरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रयासका रूपमा पनि नेपाल–रुस युवा क्लबको स्थापना हेरिएको छ।
नेपाली युवाको सिर्जनशीलता, ऊर्जा र नयाँ सोचलाई द्विपक्षीय सहकार्यसँग जोड्न सके क्लबले आगामी दिनमा मित्रता, ज्ञान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको प्रभावकारी मञ्चका रूपमा भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।





