१८ भाद्र २०८३, बिहीबार

सभामुख अर्यालसँग अष्ट्रेलियाली राजदूतको शिष्टाचार भेट

ड्रागन मिडिया सम्वाददाता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन्।

संघीय संसदस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।

सभामुख अर्यालले संघीय संसदमा नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै यसलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार र पारस्परिक समझदारी अभिवृद्धिमा संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।

अर्यालले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे।

भेटवार्तामा दुई देशबीचको सम्बन्धमा जनस्तरीय सम्पर्कको महत्वपूर्ण भूमिका रहेको चर्चा भएको थियो। सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै त्यहाँ अध्ययनरत विद्यार्थी तथा बसोबास गर्ने नेपाली समुदायले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

उनले राजदूतमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकलाई अभिवादन तथा शुभकामना पनि व्यक्त गरे।

राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य र जनस्तरीय सम्बन्ध महत्वपूर्ण रहेको बताए।

उनले शिक्षा, मानव संसाधन विकास र संसदीय सहकार्यलगायत क्षेत्रमा दुई देशबीच जारी साझेदारीलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button