१८ भाद्र २०८३, बिहीबार

भारतद्वारा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा रु ८० करोड ३० लाख सहयोग

ड्रागन मिडिया सम्वाददाता

भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकासका लागि रु ८० करोड ३० लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

परियोजना सञ्चालनसम्बन्धी सम्झौतापत्रमा मंगलबार नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधि र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्राप्त रकम विभिन्न प्रदेशमा प्राथमिकतामा रहेका शिक्षा, स्वास्थ्य र कृषि पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा खर्च गरिनेछ।

कोशी प्रदेशअन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटल प्रणाली स्तरोन्नति गरिनेछ। भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण गरिनेछ।

मोरङको बेलबारी बहुमुखी क्याम्पसका लागि नयाँ भवन निर्माण गर्ने तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजना पनि सम्झौतामा समावेश छ।

बागमती प्रदेशको धादिङस्थित ज्वालामुखी गाउँपालिकामा नगदे बाली तथा पशुपन्छी केन्द्र निर्माण गरिनेछ।

कर्णाली प्रदेशअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिकामा १० शय्याको अस्पताल तथा हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि प्रवर्द्धन केन्द्र निर्माण गर्ने योजना रहेको छ।

त्यस्तै, गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकामा शीतभण्डार निर्माण गर्ने सहमति भएको छ।

सम्झौताअन्तर्गतका परियोजना सम्बन्धित स्थानीय तह तथा संस्थामार्फत कार्यान्वयन गरिनेछ। शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा केन्द्रित यी परियोजनाले स्थानीय स्तरमा सेवा विस्तार, कृषि उत्पादनको बजारीकरण तथा आधारभूत पूर्वाधार सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button