१७ भाद्र २०८३, बुधबार

डाडाखेत–राहुघाट प्रसारण लाइन ८९ प्रतिशत पूरा, तेस्रोपटक थपिएको म्यादमा पनि नसकिने

ड्रागन मिडिया सम्वाददाता

म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रोपटक थपिएको म्याद सकिन लाग्दा समग्र भौतिक प्रगति ८९ प्रतिशत पुगेको छ। तर बाँकी कामका कारण अगस्ट १६ सम्मको समयसीमाभित्र आयोजना सम्पन्न हुने अवस्था देखिएको छैन।

मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङसम्म २५ किलोमिटर लामो प्रसारण लाइन तथा दुई सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा लार्सन एन्ड टुब्रो लिमिटेडसँग रु तीन अर्ब ५७ करोडमा ठेक्का सम्झौता भएको थियो।

आयोजनाको पहिलोपटक सन् २०२५ जुलाई १६ र दोस्रोपटक नोभेम्बर १६ सम्म म्याद थपिएको थियो। त्यस अवधिमा पनि निर्माण सम्पन्न नभएपछि तेस्रोपटक सन् २०२६ अगस्ट १६ सम्म समय थपिएको हो।

आयोजनाका सहायक प्रबन्धक इञ्जिनियर सुरज गुरुङका अनुसार पछिल्लो समयसीमाभित्र पनि निर्माण सम्पन्न हुने सम्भावना छैन। वन क्षेत्रमा रूख कटानको आदेश ढिलो प्राप्त हुनु, राहुघाट सबस्टेसन निर्माणस्थलको कमजोर भूगोल र विपद जोखिम तथा केही टावर निर्माणस्थलमा देखिएको स्थानीय विवादका कारण बाँकी काम सक्न अझै चारदेखि पाँच महिना लाग्न सक्ने अनुमान गरिएको छ।

नेपाल विद्युत प्राधिकरणले म्याग्दी नदी तथा राहुघाट जलाधार क्षेत्रमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले आयोजना निर्माण गरिरहेको छ।

१३२ केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइनमा निर्माण गर्नुपर्ने कुल ८२ टावरमध्ये ८० वटाको जग तयार भइसकेको छ भने ७२ वटा टावर खडा गरिएको छ। कुल २५ किलोमिटरमध्ये १२ दशमलव एक किलोमिटर क्षेत्रमा तार तान्ने कामसमेत पूरा भएको छ।

डाडाखेत सबस्टेसनको भौतिक निर्माण सम्पन्न भएर हाल परीक्षणको काम भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिएका छन्। कुल ५१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सबस्टेसनमा उच्च क्षमताका विद्युत उपकरण जडान तथा परीक्षणको काम भइरहेको छ।

त्यस्तै, ग्यास इन्सुलेटेड स्विचगियर प्रविधिमा आधारित राहुघाट सबस्टेसनमा २२०/१३२/३३ केभी तथा २०० एमभिए क्षमताका उपकरण जडान र कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको कुल लागत अनुमान रु चार अर्ब ८८ करोड रहेको छ। यसमा नेपाल विद्युत प्राधिकरणको रु एक अर्ब पाँच करोड र एसियाली विकास बैङ्कको करिब रु तीन अर्ब ८२ करोड बराबर ऋण लगानी रहेको छ।

प्रसारण लाइनको मार्गाधिकारमा पर्ने २५ दशमलव ६२ हेक्टर वन क्षेत्रमा रहेका तीन हजार ९३६ रूख कटानका लागि गत जेठको पहिलो सातामा मात्र डिभिजन वन कार्यालयबाट आदेश प्राप्त भएको थियो। रूख कटानसम्बन्धी प्रक्रियामा भएको ढिलाइ आयोजनाको समयतालिका प्रभावित गर्ने प्रमुख कारणमध्ये एक बनेको छ।

आयोजना सम्पन्न भएपछि म्याग्दी नदी र राहुघाट क्षेत्रमा निर्माण सम्पन्न तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिनेछ। यसले म्याग्दी क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको जलविद्युत उत्पादनका लागि आवश्यक प्रसारण पूर्वाधार सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button