सेनाको ब्यारेक आसपास ड्रोन उडाएको आरोपमा बाजुरामा एक युवा पक्राउ

ड्रागन मिडिया सम्वाददाता
बाजुरा प्रहरीले नेपाली सेनाको ब्यारेक आसपास ड्रोन उडाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान करिब ११ बजे बडिमालिका नगरपालिका ८ मार्तडीस्थित नेपाली सेनाको ईश्वरी बक्स गुल्म थापाथली ब्यारेक आसपास ड्रोन उडाएको आरोपमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ का २९ वर्षीय तिलक श्रेष्ठ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सैनिक ब्यारेकको निषेधित क्षेत्रसमेत कैद हुने गरी ड्रोन उडाइएको भन्ने जानकारी नेपाली सेनाबाट प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी निरीक्षक शाहीको नेतृत्वमा खटिएको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिई उनको साथमा रहेको ड्रोनसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठसँग ड्रोन सञ्चालन तथा त्यससम्बन्धी आवश्यक कागजपत्रसमेत फेला परेको छैन।
ड्रोन किन र कुन प्रयोजनका लागि उडाइएको थियो भन्ने विषयसहित घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





