१८ भाद्र २०८३, बिहीबार

पश्चिमी किनारा ‘फर्कन नसकिने बिन्दु’ नजिक पुगेको रुसको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

संयुक्त राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले पश्चिमी किनाराको अवस्था गम्भीर अस्थिरतातर्फ अघि बढिरहेको भन्दै यसले समग्र मध्यपूर्वको सैन्य तथा राजनीतिक परिस्थितिमा व्यापक असर पार्न सक्ने चेतावनी दिएका छन्।

न्युयोर्कमा अगस्ट ११ मा आयोजित संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा बोल्दै नेबेन्जियाले पश्चिमी किनारा “फर्कन नसकिने बिन्दु” नजिक पुगेको बताए।

उनले अधिग्रहित प्यालेस्टिनी भूभागमा इजरायली बस्ती विस्तार, बसोबासकर्ताबाट हुने हिंसा र प्यालेस्टिनी नागरिकको आवतजावतमा लगाइएका बढ्दो प्रतिबन्धलाई वर्तमान तनावका प्रमुख कारणका रूपमा उल्लेख गरे।

रुसले दुई राज्य समाधानको सम्भावना कमजोर बनाउने बस्ती विस्तारलगायत एकपक्षीय कदमबाट अलग रहन, बसोबासकर्ताको हिंसा नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन तथा संयुक्त राष्ट्र सुरक्षा परिषद र महासभाका सम्बन्धित प्रस्तावको पालना गर्न इजरायललाई आग्रह गरेको नेबेन्जियाले बताए।

उनले गाजा पट्टीको अवस्था पनि उत्तिकै चिन्ताजनक रहेको उल्लेख गरे। अमेरिकाद्वारा अघि सारिएको गाजासम्बन्धी शान्ति योजनाको व्यावहारिक कार्यान्वयन प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो।

मध्यस्थकर्ताको प्रयासबाट गाजामा व्यापक स्तरको रक्तपात रोकिएको तथ्य महत्वपूर्ण भए पनि युद्धविराम निरन्तर उल्लङ्घन भइरहेको र त्यसमा मुख्य जिम्मेवारी इजरायली पक्षको रहेको दाबी नेबेन्जियाले गरे।

उनले युद्धविराम औपचारिक रूपमा लागू भएको एक वर्षभन्दा कम अवधिमा करिब एक हजार ३०० प्यालेस्टिनी मारिएको दाबी गरे। तीमध्ये करिब ३०० बालबालिका रहेको उनले संयुक्त राष्ट्र बाल कोष युनिसेफको तथ्याङ्क उल्लेख गर्दै बताए।

नेबेन्जियाले मध्यपूर्व शान्ति प्रक्रियाको कुनै पनि पहलको सफलता अन्ततः पश्चिमी किनारा र गाजा समेटिएको, पूर्वी जेरुसेलम राजधानी भएको स्वतन्त्र, एकीकृत र भौगोलिक रूपमा निरन्तर प्यालेस्टिनी राज्य स्थापना गर्ने लक्ष्यबाट मूल्याङ्कन गरिनुपर्ने बताए।

उनले प्यालेस्टाइन प्रश्न र व्यापक मध्यपूर्व शान्ति प्रक्रियाको समाधान अस्थायी वा बन्द कोठामा हुने सीमित समझदारीबाट सम्भव नहुने धारणा राखे।

कुनै एउटा मुलुकले मध्यस्थताको भूमिका एकाधिकार गर्ने प्रयास पनि दिगो समाधानका लागि पर्याप्त नहुने उनले बताए। विशेषगरी मध्यस्थकर्ता स्वयं अरब–इजरायल द्वन्द्वको एउटा पक्षतर्फ स्पष्ट रूपमा झुकेको अवस्थामा निष्पक्ष शान्ति प्रक्रियाको सम्भावना कमजोर हुने उनको तर्क थियो।

रुसले मध्यपूर्वमा दीर्घकालीन स्थिरता स्थापना गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शक्तिहरूको समन्वित प्रयास आवश्यक रहेको दोहोर्‍याएको छ।

नेबेन्जियाले विद्यमान अन्तर्राष्ट्रिय कानुनी आधारलाई सम्मान गर्दै “दुई जनताका लागि दुई राज्य” को अवधारणालाई मध्यपूर्व शान्ति प्रक्रियाको केन्द्रीय आधार बनाइनुपर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button