१८ भाद्र २०८३, बिहीबार

‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तरराष्ट्रिय युवा दिवस

ड्रागन मिडिया सम्वाददाता

विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।

युवाको भूमिका र महत्वलाई उजागर गर्ने उद्देश्यसहित संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ मा अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै आएको छ।

दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस र पैरवीलाई प्रवर्द्धन गर्नु, नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता बढाउनु तथा युवा क्षेत्रमा साझेदारी र लगानी अभिवृद्धि गर्नु हो। यसले युवामैत्री शासन प्रवर्द्धन गर्नुका साथै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका युवा केन्द्रित संस्था र निकायबीच सहकार्य विस्तारमा समेत जोड दिँदै आएको छ।

दिवसका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोह आयोजना गरिएको छ। समारोहअन्तर्गत सूचना प्रविधि तथा नवप्रवर्तनमा आधारित व्यवसायको प्रदर्शनीसमेत गरिँदैछ।

यसअघि बिहान भृकुटीमण्डपदेखि कमलादीस्थित मूल समारोहस्थलसम्म युवा जागरण दौड आयोजना गर्ने कार्यक्रम छ। मूल समारोहमा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा उच्चस्तरीय छलफलसमेत आयोजना गरिनेछ।

दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा नवप्रवर्तन व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ व्यवसायलाई सम्मान गरिँदैछ। सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

अन्तरराष्ट्रिय युवा दिवसलाई युवा जागरण, सहभागिता र साझेदारी विस्तार गर्ने विश्वव्यापी अभियानका रूपमा लिइन्छ। सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता, सहकार्य र पारस्परिकता प्रवर्द्धन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि यो दिवस स्थापित भएको छ।

राष्ट्रिय युवा परिषदका अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेको थियो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ छ, जुन कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत हो।

युवा अवस्थालाई मानव जीवनको सिर्जनशीलता, ऊर्जा, उत्साह र सक्रियताको महत्वपूर्ण चरणका रूपमा लिइन्छ। ठूलो युवा जनसङ्ख्यालाई शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र नीति निर्माणसँग प्रभावकारी रूपमा जोड्न सक्नु नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण मानिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button