१८ भाद्र २०८३, बिहीबार

सन् २०३० सम्म पारिस्थितिक संरक्षण थप सुदृढ बनाउने चीनको योजना

ड्रागन मिडिया समाचार कक्ष

चीनले हरित आधुनिकीकरणलाई निरन्तर अघि बढाउँदै सन् २०२६ देखि २०३० सम्मको अवधिमा पारिस्थितिक संरक्षणलाई थप सुदृढ बनाउने भएको छ।

पारिस्थितिकी तथा वातावरण मन्त्रालय, प्राकृतिक स्रोत मन्त्रालयलगायत निकायले संयुक्त रूपमा जारी गरेको विकास योजनाअनुसार चीनले पारिस्थितिक प्रणालीको गुणस्तर क्रमिक रूपमा सुधार गर्ने, जैविक तथा पारिस्थितिक विविधता, स्थायित्व र प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने तथा राष्ट्रिय पारिस्थितिक सुरक्षालाई अझ प्रभावकारी रूपमा संरक्षण गर्ने लक्ष्य राखेको छ।

योजनाले आगामी पाँच वर्षका लागि विभिन्न मापनयोग्य लक्ष्यसमेत निर्धारण गरेको छ। संरक्षित क्षेत्रले ओगटेको भूभाग कुल राष्ट्रिय भूभागको कम्तीमा १८ प्रतिशत कायम राख्ने र पारिस्थितिक गुणस्तर सूचकाङ्कलाई ८६.५ पुर्‍याउने लक्ष्य तय गरिएको छ।

यसैगरी माटो तथा जल संरक्षण दरलाई ७४ प्रतिशतभन्दा माथि पुर्‍याउने र वन क्षेत्रको अनुपात २५.८ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

योजनामा पारिस्थितिक भूस्थानिक संरचनालाई थप अनुकूल बनाउने, पारिस्थितिक प्रणालीको संरक्षण तथा पुनर्स्थापनालाई अगाडि बढाउने र जैविक विविधता संरक्षणलाई व्यापक रूपमा सुदृढ गर्ने प्रमुख कार्यसमेत समेटिएका छन्।

चीनले पछिल्ला वर्षमा पारिस्थितिक संरक्षण तथा वातावरणीय सुरक्षालाई राष्ट्रिय विकास नीतिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ। आर्थिक विकाससँगै प्राकृतिक स्रोतको संरक्षण, प्रदूषण नियन्त्रण, पारिस्थितिक पुनर्स्थापना र हरित उत्पादन प्रणाली विस्तारमा जोड दिइएको छ।

यसै क्रममा चीनको महत्वपूर्ण ‘पारिस्थितिक तथा वातावरणीय संहिता’ यसै शनिबारदेखि लागू हुँदैछ। उक्त संहिताले दीगो र वातावरणमैत्री विकासका लागि कानुनी आधार थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नयाँ विकास योजना र कानुनी संरचनाले आगामी पाँच वर्षमा चीनको हरित आधुनिकीकरणलाई पारिस्थितिक सुरक्षा, जैविक विविधता संरक्षण र प्राकृतिक स्रोतको दीगो व्यवस्थापनसँग अझ निकट रूपमा जोड्ने संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button