१८ भाद्र २०८३, बिहीबार

ताइवानसम्बन्धी विषय ‘एक चीन’ सिद्धान्तअनुसार व्यवस्थापन गर्न प्यासिफिक आइल्याण्ड्स फोरमलाई चीनको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

चीनले प्यासिफिक आइल्याण्ड्स फोरम (पीआईएफ) को सचिवालयलाई ‘एक चीन’ सिद्धान्तको पालना गर्दै ताइवानसम्बन्धी विषय उचित ढङ्गले व्यवस्थापन गर्न आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाखुनले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा पीआईएफसँग चीनको सम्बन्धको स्वस्थ र स्थिर विकास प्रभावित नहुने गरी ताइवानसम्बन्धी विषय सम्हाल्नुपर्ने बताए।

अगस्ट ३० देखि सेप्टेम्बर ४ सम्म पलाउमा आयोजना हुने पीआईएफको वार्षिक नेतास्तरीय बैठकमा ताइवान सहभागी हुने सम्बन्धी एक प्रश्नको जवाफ दिँदै गुओले चीनको धारणा निरन्तर र स्पष्ट रहेको बताए।

उनका अनुसार अन्तरराष्ट्रिय संगठनका गतिविधिमा चीनको ताइवान क्षेत्रको सहभागितासम्बन्धी विषय ‘एक चीन’ सिद्धान्तअनुसार व्यवस्थापन गरिनुपर्छ।

गुओले संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव नम्बर २७५८ लाई उल्लेख गर्दै चीनले उक्त प्रस्तावलाई ‘एक चीन’ सिद्धान्तसँग सम्बन्धित आफ्नो कूटनीतिक अडानको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको बताए।

यसअघि सोलोमन आइल्याण्ड्समा आयोजित गत वर्षको पीआईएफ बैठकमा ताइवानको सहभागिता रोकिएको थियो। त्यसबेला चीनले ताइवानको सहभागिताप्रति आपत्ति जनाएको थियो।

चीनले पीआईएफ सचिवालयलाई ताइवानसम्बन्धी विषयमा आफ्नो अडानलाई ध्यानमा राख्न आग्रह गर्दै यस्तो विषयले चीन र प्रशान्त टापु मुलुकबीच विकसित हुँदै गएको सम्बन्धमा अवरोध सिर्जना गर्न नहुने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button