१८ भाद्र २०८३, बिहीबार

प्रविधि हेर्न र अनुभव गर्न विश्वभरका पर्यटक तान्दै चीनको शेन्चन

ड्रागन मिडिया समाचार कक्ष

दक्षिण चीनको क्वाङतोङ प्रान्तस्थित शेन्चन शहरको विशाल ह्वाछ्याङपेइ इलेक्ट्रोनिक्स बजारमा अमेरिकी पर्यटक ब्रायन लामोथ एरिस सुरुमा व्यायामका लागि एउटा वायरलेस हेडफोन किन्न पुगेका थिए। तर बजारमा प्रवेश गरेपछि विद्युतीय साइकल, स्कुटर, क्यामेरा, ड्रोन र अन्य अत्याधुनिक उपकरणले उनको ध्यान तान्यो।

हङकङसँग जोडिएको चीनको प्रमुख प्रविधि केन्द्र शेन्चन अहिले विश्वभरका पर्यटकका लागि नयाँ किसिमको गन्तव्य बन्दै गएको छ। चीनले विदेशी यात्रुका लागि प्रवेश प्रक्रिया सहज बनाएसँगै पर्यटकहरू परम्परागत पर्यटकीय स्थल हेर्न मात्र होइन, भविष्यका प्रविधि प्रत्यक्ष अनुभव गर्न पनि शेन्चन पुग्न थालेका छन्।

शहरमा ड्रोनले खाना ढुवानी गर्छन्, कारखानामा मानवरूपी रोबोटको परीक्षण भइरहेको हुन्छ, सडकमा विद्युतीय सवारीको व्यापक प्रयोग देखिन्छ र कृत्रिम बुद्धिमत्ता उत्पादन, स्वास्थ्य सेवा तथा शहरी सेवामा क्रमशः गहिरो रूपमा समावेश हुँदै गएको छ।

कुनै समय माछा मार्ने सानो बस्तीका रूपमा चिनिने शेन्चन चीनका प्रारम्भिक विशेष आर्थिक क्षेत्रमध्ये एक बनेपछि पछिल्ला चार दशकमा विश्वस्तरीय नवप्रवर्तन तथा उन्नत उत्पादन केन्द्रका रूपमा रूपान्तरण भएको छ। ह्वावई, टेन्सेन्ट, बीवाईडी, डीजीआई र यूबीटेकजस्ता प्रविधि कम्पनीका मुख्यालय यही शहरमा छन्। कृत्रिम बुद्धिमत्ता, नयाँ ऊर्जा तथा अन्य उदीयमान क्षेत्रमा काम गर्ने ठूलो सङ्ख्याका नयाँ प्रविधि कम्पनी पनि यहाँ सक्रिय छन्।

यस प्रविधि पारिस्थितिकीको केन्द्रमा रहेको ह्वाछ्याङपेइमा एक लाख १५ हजारभन्दा बढी व्यावसायिक संस्था र ३५ वटा विशेषीकृत बजार सञ्चालनमा छन्। स्थानीय सरकारी तथ्याङ्कअनुसार यस वर्ष दैनिक औसत करिब आठ हजार विदेशी खरिदकर्ता यहाँ पुगिरहेका छन्।

जनवरीदेखि जुलाईसम्म ह्वाछ्याङपेइ क्षेत्रमा कृत्रिम बुद्धिमत्तासम्बन्धी उत्पादनको बिक्री अघिल्लो वर्षको समान अवधिको तुलनामा ५५ प्रतिशतभन्दा बढी बढेको छ। एआई चस्माको बिक्री दोब्बर भएको छ भने ड्रोन र रोबोटको बिक्री ६० देखि ७० प्रतिशतसम्म वृद्धि भएको छ।

लामो समयदेखि त्यहाँ व्यवसाय गर्दै आएका स्याओ वनलोङका अनुसार यस वर्ष विदेशी ग्राहकको सङ्ख्या स्पष्ट रूपमा बढेको छ। उनका अनुसार धेरै विदेशी पर्यटक परिवारसहित आउँछन् र भ्रमणकै क्रममा तुलनात्मक रूपमा उचित मूल्यमा प्रविधि सामग्री खरिद गर्छन्।

दक्षिण अफ्रिकाका पर्यटक जानविक हाटिङले ह्वाछ्याङपेइमा पावर बैंक किने। भ्रमणकै क्रममा उनले आफ्नो एप्पल कम्प्युटर र छोरीको घडीसमेत मर्मत गराए। उनका अनुसार शेन्चनमा कल्पना गर्न सकिने लगभग सबै प्रकारका प्रविधि उत्पादन सजिलै पाइन्छन्।

तर शेन्चनको आकर्षण अब इलेक्ट्रोनिक्स बजारमा किनमेल गर्नेमै सीमित छैन। धेरै विदेशी आगन्तुक व्यावसायिक वा औद्योगिक प्रयोजनका लागि पनि यहाँका प्रविधि अध्ययन गर्न थालेका छन्।

शहरस्थित डीजीआईको प्रमुख बिक्री केन्द्रमा स्पेनकी वाइन व्यवसायी मार्टा सेरोलाजाले कृषि ड्रोनबारे जानकारी लिइरहेकी थिइन्। उनले ती ड्रोनलाई आफ्नो वाइन उत्पादन क्षेत्रमा प्रयोग गरेर व्यवसायलाई उच्च प्रविधिमुखी बनाउने सम्भावना अध्ययन गरिरहेको बताइन्।

डीजीआई बिक्री केन्द्रकी कर्मचारी वाङ लिनलिनका अनुसार पछिल्ला दुई सातामा आएका अर्डरमध्ये करिब ४० प्रतिशत विदेशी ग्राहकबाट आएका छन्। तीमध्ये युरोप र दक्षिण अमेरिकाबाट आउने ग्राहक उल्लेख्य छन्।

शेन्चनको लोङकाङ जिल्लामा रहेको रोबोट ६एस केन्द्रमा विदेशी पर्यटकले रोबोटसँग सम्बन्धित विभिन्न अनुभव लिन सक्छन्। विश्वकै पहिलो यस्तो केन्द्रका रूपमा प्रस्तुत गरिएको स्थानमा जमैकाकी पर्यटक ड्यानिएला र उनका साथीहरूले रोबोट युद्ध खेल अनुभव गर्नुका साथै पूर्ण रूपमा रोबोटद्वारा सञ्चालन गरिएको भोजनालयमा खाना खाएका थिए।

ड्यानिएलाले मानवरूपी रोबोटको चाल र धेरै जोर्नी भएको संरचनाले आफूलाई सबैभन्दा बढी प्रभावित गरेको बताइन्। भविष्यमा घरमा कथा पढिदिने र खाना पकाउन सहयोग गर्ने सेवा रोबोट प्रयोग गर्न चाहेको पनि उनले बताइन्।

सीमा निरीक्षणसम्बन्धी तथ्याङ्कअनुसार यस वर्ष अगस्टको सुरुसम्म शेन्चन हुँदै विदेशी नागरिकको प्रवेश र बहिर्गमन पाँच लाख होइन, ५० लाखभन्दा बढी पटक अभिलेख गरिएको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५८ दिन अगावै पुगेको हो।

शेन्चनस्थित ‘सेन्चुरी हलिडे’ नामक पर्यटन कम्पनीका उत्पादन व्यवस्थापक चाङ बिनका अनुसार गत महिनायता कम्पनीको विदेशी पर्यटकसम्बन्धी व्यवसाय अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशत बढेको छ। परिवार केन्द्रित प्रविधि भ्रमण, औद्योगिक स्थल अवलोकन तथा साना समूहका लागि अनुकूलित कार्यक्रमले माग बढाउन सहयोग गरेका छन्।

चीन भ्रमण गर्न विदेशी नागरिकका लागि प्रक्रिया सहज हुँदै जानु पनि यस वृद्धिको महत्वपूर्ण कारण बनेको छ। चीनले हाल ५० देशका नागरिकलाई एकतर्फी भिसामुक्त प्रवेश सुविधा दिएको छ। त्यस्तै ५५ देशका नागरिकले ६५ निर्दिष्ट प्रवेश बिन्दुबाट २४० घण्टासम्मको भिसामुक्त पारवहन सुविधा प्रयोग गर्न सक्छन्।

शेन्चनले विदेशी यात्रुका लागि व्यवहारिक कठिनाइ कम गर्ने कदम पनि चालेको छ। सन् २०२४ देखि विदेशी बैंक कार्डलाई वीच्याटजस्ता भुक्तानी मञ्चसँग प्रत्यक्ष जोड्न सकिने व्यवस्था सुरु गरिएको छ। छ वटा हवाई, स्थल तथा सामुद्रिक प्रवेश बिन्दुमा प्रस्थानपूर्व कर फिर्ता सुविधा पनि उपलब्ध छ।

विदेशमा चीनप्रतिको धारणा पनि क्रमशः परिवर्तन भइरहेको संकेत देखिएको छ। प्यु रिसर्च सेन्टरले जुलाईमा सार्वजनिक गरेको सर्वेक्षणअनुसार सन् २०२३ देखि निरन्तर सर्वेक्षण गरिएका २० देशमा चीनप्रति अनुकूल धारणा राख्नेको मध्य मान ४६ प्रतिशत पुगेको छ, जुन सन् २०२३ मा ३२ प्रतिशत थियो।

शेन्चन अब अझ ठूलो अन्तरराष्ट्रिय गतिविधिको तयारीमा छ। चीनले आगामी नोभेम्बरमा ३३औँ एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात एपेक आर्थिक नेताहरूको बैठक शेन्चनमा आयोजना गर्दैछ। सन् २००१ मा शाङ्घाई र सन् २०१४ मा बेइजिङपछि चीनले तेस्रो पटक एपेक नेताहरूको बैठक आयोजना गर्न लागेको हो।

कुनै समय विश्व बजारका लागि उत्पादन बनाउने शहरका रूपमा परिचित शेन्चन अहिले ती उत्पादन र तिनलाई सम्भव बनाउने प्रविधि प्रत्यक्ष हेर्न विश्वभरका मानिसलाई आकर्षित गर्ने केन्द्र बन्दै गएको छ।

कतिपय आगन्तुक स्मृतिचिह्न वा तस्बिर मात्र लिएर फर्कन चाहँदैनन्। ब्राजिलका गाब्रियल फेरेरा पेद्रोसाले आफ्नो कम्पनीका लागि शेन्चनबाट मानवरूपी रोबोट खरिद गर्ने योजना बनाएको बताए।

यसले शेन्चनको नयाँ पहिचान स्पष्ट गर्छ। शहर अब केवल उत्पादन केन्द्र होइन, प्रविधि अनुभव, नवप्रवर्तन, व्यापार र अन्तरराष्ट्रिय प्रविधि पर्यटनको पनि महत्वपूर्ण केन्द्रका रूपमा उभिँदै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button