बिरामीको चाप बढेपछि महाकाली प्रादेशिक अस्पतालमा राति पनि डायलाइसिस सेवा सञ्चालनको तयारी

ड्रागन मिडिया सम्वाददाता
मिर्गौला रोगका बिरामीको चाप अत्यधिक बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले रातिको समयमा समेत डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालमा उपलब्ध शय्या, डायलाइसिस मेसिन र जनशक्ति बिरामीको चापअनुसार पर्याप्त नहुँदा सेवा लिन आउने बिरामीले कठिनाइ भोग्दै आएका छन्।
अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टका अनुसार बिरामीको बढ्दो चापलाई ध्यानमा राखेर थप जनशक्ति, शय्या र उपकरण व्यवस्थापन गरी सेवा विस्तार गर्ने प्रयास भइरहेको छ। यसका लागि सम्बन्धित माथिल्लो निकायसँग छलफल भइरहेको उनले बताए।
अस्पतालमा हाल डायलाइसिसका लागि १० वटा शय्या छन्। दैनिक २० देखि २५ जना बिरामी सेवा लिन आउने गरे पनि उपलब्ध स्रोत र जनशक्तिका कारण १८ देखि १९ जनालाई मात्र डायलाइसिस सेवा दिन सकिने अवस्था रहेको अस्पतालले जनाएको छ।
डायलाइसिस सेवाकी सम्पर्क व्यक्ति यशोदा गिरीका अनुसार अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा सेवा सञ्चालन भइरहेको छ। बिरामीको चाप व्यवस्थापन गर्न तेस्रो सिफ्टका रूपमा राति पनि डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।
रातिको सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनको काम अघि बढाइएको उनले बताइन्। महाकाली प्रादेशिक अस्पतालमा समयमै सेवा नपाउने कतिपय बिरामी डायलाइसिसका लागि धनगढीलगायत अन्य स्थानमा जान बाध्य छन्।
अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदका अनुसार कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको प्रयोगशाला भवनबाट अहिले डायलाइसिस सेवा सञ्चालन भइरहेको छ।
उनले जनशक्तिको चरम अभावका कारण हालसम्म रातिको सिफ्ट सञ्चालन गर्न नसकिएको बताए। आवश्यक जनशक्ति उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरिएको पनि उनले जानकारी दिए।
अस्पतालले आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्न सके रातिको सिफ्ट थपेर दैनिक सेवा पाउने बिरामीको सङ्ख्या बढाउन सकिने र अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरेको छ।





