क्रिस्टियानो रोनाल्डो र जोर्जिना रोड्रिगेज विवाह बन्धनमा

ड्रागन मिडिया समाचार कक्ष
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी जीवनसाथी जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्। करिब एक दशक लामो सम्बन्धपछि उनीहरूले पोर्चुगलको कास्काइसमा आयोजित निजी समारोहमा विवाह गरेका हुन्।
रोनाल्डो र जोर्जिनाले सामाजिक सञ्जालमार्फत विवाहको औँठी देखिने तस्बिर सार्वजनिक गर्दै वैवाहिक सम्बन्धको पुष्टि गरेका छन्। उनीहरूले सार्वजनिक गरेको पोस्टमा संक्षिप्त रूपमा “C❤️G” उल्लेख गरिएको छ।
सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न समारोहमा उनीहरूको परिवारका नजिकका सदस्य तथा पाँचै जना बालबालिका सहभागी भएका थिए। ठूलो सार्वजनिक समारोहभन्दा पारिवारिक वातावरणमा विवाह सम्पन्न गरिएको थियो।
रोनाल्डो र जोर्जिनाको पहिलो भेट सन् २०१६ मा म्याड्रिडको एउटा पसलमा भएको थियो। त्यसपछि उनीहरूको सम्बन्ध क्रमशः विकसित हुँदै गएको थियो। लामो समयदेखि पारिवारिक जीवन बिताउँदै आएका उनीहरूले सन् २०२५ अगस्टमा इन्गेजमेन्ट गरेका थिए।
विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडीमध्ये एक रोनाल्डो र मोडल तथा व्यवसायी जोर्जिनाको सम्बन्ध लामो समयदेखि अन्तरराष्ट्रिय सञ्चारमाध्यम र समर्थकको चासोमा रहँदै आएको छ। निजी समारोहमा सम्पन्न विवाहसँगै उनीहरूको करिब एक दशक लामो सम्बन्धले औपचारिक वैवाहिक रूप लिएको छ।





