गलत र भ्रामक सूचनाले सामाजिक सद्भाव खलबल्याउने जोखिम बढेको छ: प्रहरी महानिरीक्षक कार्की
ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत फैलिने गलत तथा भ्रामक सूचना, डिपफेक र घृणात्मक अभिव्यक्तिले नेपाली समाजको आपसी सद्भावमा असर पार्ने जोखिम बढाएको बताएका छन्।
मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उल्लेख गर्दै उनले शान्ति व्यवस्था खलबल्याएर फाइदा लिन खोज्ने आपराधिक प्रवृत्तिका व्यक्ति तथा समूहप्रति प्रहरी सचेत रहेको बताए।
महानिरीक्षक कार्कीका अनुसार नेपाल प्रहरी नागरिकबीचको सुसम्बन्ध र सामाजिक सद्भावलाई केन्द्रमा राखेर रणनीतिक रूपमा परिचालित भइरहेको छ। सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे विद्यालय तहदेखि नै सचेतना विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
उनले पछिल्लो समय प्रविधिको तीव्र विस्तारसँगै गलत र भ्रामक सूचना समाजमा छिटो फैलिने अवस्था सिर्जना भएको बताए। यस्तो परिस्थितिमा प्रहरी कारवाही मात्र पर्याप्त नहुने र नागरिक, समुदाय, राजनीतिक नेतृत्व, बौद्धिक क्षेत्र तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक हुने उनको भनाइ छ।
सुनसरीमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाबारे महानिरीक्षक कार्कीले नेपाली समाजको मेलमिलापपूर्ण चरित्र र शान्तिप्रतिको नागरिक चाहनाका कारण परिस्थिति थप विस्तार हुनबाट रोकिएको बताए।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको मात्र नभएको उल्लेख गर्दै उनले राजनीतिक, बौद्धिक, आध्यात्मिक तथा सामाजिक नेतृत्वको पनि उत्तिकै भूमिका रहने बताए। नेपाली समाजको मौलिक पहिचान, धार्मिक सहिष्णुता र नागरिकबीचको सुसम्बन्धलाई सुदृढ बनाउनु दीर्घकालीन शान्तिका लागि आवश्यक रहेको उनको धारणा छ।
महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा गृह मन्त्रालयलगायत निकायबीच नियमित समन्वय भइरहेको पनि जानकारी दिए। मुलुकको विशिष्ट सुरक्षा अवस्थाअनुसार सम्बन्धित निकायबीच छलफल गरी रणनीति तय गर्ने गरिएको उनले बताए।
प्रहरीको व्यवहार र जनविश्वासका विषयमा उनले कानुन कार्यान्वयनका क्रममा नागरिकबाट आउने आलोचना र असन्तुष्टिलाई व्यक्तिगत रूपमा लिन नहुने बताए। प्रहरी कर्मचारीले नागरिकसँग समान, शिष्ट र कानुनसम्मत व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।
प्रहरी सेवामा आकर्षण घट्दै गएको विषयमा महानिरीक्षक कार्कीले सेवा सुविधा, बासस्थान, जोखिम भत्ता, कार्यालय संरचना र समयानुकूल सुविधामा सुधार आवश्यक रहेको बताए। नेपाल प्रहरीका दुई हजार ६६० स्वीकृत प्रहरी एकाइमध्ये धेरैसँग पर्याप्त भवन नरहेको र ९७० अस्थायी प्रहरी चौकीसमेत सञ्चालनमा रहेको उनले जानकारी दिए।
उनका अनुसार २८५ प्रहरी भवन अत्यन्त जर्जर र जोखिमपूर्ण अवस्थामा छन्। प्रहरी संरचना सुधारका लागि स्थानीय तहको सहयोगसमेत आवश्यक देखिएको छ।
बदलिँदो अपराधको प्रकृतिलाई ध्यानमा राख्दै नेपाल प्रहरीले आफ्नो कार्यशैली पनि परिवर्तन गरिरहेको महानिरीक्षक कार्कीले बताए। आधुनिक प्रविधिगत तथा आर्थिक अपराध बढ्दै गएकाले प्राविधिक दक्षता भएका प्रहरी जनशक्ति थप्न आवश्यक रहेको उनको भनाइ छ।
प्रहरी कार्यालयमै पुगेर निवेदन दिनुपर्ने बाध्यता घटाउन ‘नेपाल पुलिस एप’मार्फत आवेदन तथा निवेदन दिने व्यवस्था विकास गरिएको पनि उनले बताए।
अन्तरदेशीय अपराध बढ्दै गएको सन्दर्भमा इन्टरपोल तथा ‘पुलिस टु पुलिस’ सहकार्यमार्फत अन्तरराष्ट्रिय समन्वय विस्तार भइरहेको महानिरीक्षक कार्कीले जानकारी दिए। सिङ्गापुर, दक्षिण कोरिया र भारतलगायत देशका प्रहरी निकायसँग अपराध नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सहकार्य भइरहेको उनले बताए।
उनले परम्परागत कार्यशैलीबाट मात्रै आधुनिक सुरक्षा चुनौती सामना गर्न नसकिने उल्लेख गर्दै प्रहरीको जनशक्ति व्यवस्थापनदेखि नेतृत्व तहसम्म प्रविधि, कार्यसम्पादन मूल्याङ्कन र व्यावसायिक क्षमतामा आधारित सुधार अघि बढाइएको बताए।
महानिरीक्षक कार्कीका अनुसार बदलिँदो समाज, प्रविधि र अपराधको स्वरूपसँगै प्रहरी संगठनले पनि आफ्नो सोच, कार्यशैली र क्षमतामा निरन्तर परिवर्तन गर्दै जानुपर्ने आवश्यकता छ।





