पत्नीमाथि आगजनी प्रयास गरेको आरोपमा सुर्खेतमा पति पक्राउ
ड्रागन मिडिया सम्वाददाता
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१३ रामघाटमा पत्नीमाथि पेट्रोल छर्केर आगजनी प्रयास गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५० वर्षीया महेश्वरी रानामाथि आगजनी प्रयास गरेको आरोपमा उनका ४९ वर्षीय पति जयबहादुर रानालाई नियन्त्रणमा लिइएको हो।
मंगलबार बेलुका करिब ५ बजे घटना भएको प्रहरीले जनाएको छ। घटनापछि उनकी १८ वर्षीया छोरी पुष्पा रानाले तत्काल आगो नियन्त्रणमा लिएर आमालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्याएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज सिफारिस गरिएको थियो।
त्यहाँ पनि थप उपचार आवश्यक देखिएपछि मंगलबार राति करिब ११ः३० बजे उनलाई भारतको लखनउस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका आरोपित जयबहादुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।





