कृषि, वन र वातावरण क्षेत्रमा रोजगारी सृजना सरकारको प्राथमिकता: मन्त्री चौधरी
ड्रागन मिडिया सम्वाददाता
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषयलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएकी छन्।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार सन्देश जारी गर्दै मन्त्री चौधरीले युवाको नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिइन्।
उनले कृषि क्षेत्रको विकास तथा वन र वातावरण संरक्षणमा युवाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको सहभागिता अझ विस्तार गर्नुपर्ने बताइन्।
देश विकासको मुख्य जनशक्ति युवा भएको उल्लेख गर्दै मन्त्री चौधरीले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताइन्। प्रविधिको पहुँच विस्तारसँगै ग्रामीण युवालाई कृषि, वन, वातावरण तथा उद्यमशीलतामा नयाँ अवसर सिर्जना गर्न सकिने उनको धारणा छ।
यस वर्ष अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष अगस्ट १२ मा अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै आएको छ।
युवा केन्द्रित नीति निर्माण, निर्णय प्रक्रियामा युवाको सहभागिता विस्तार तथा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा युवासम्बन्धी मुद्दामा बहस र पैरवी प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।





