हेटौँडाले नगरको मौलिक पहिचान झल्काउने ‘नगर गान’ निर्माण गर्ने

ड्रागन मिडिया सम्वाददाता
हेटौँडा उपमहानगरपालिकाले नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किने गरी ‘नगर गान’ निर्माण गर्ने भएको छ।
उपमहानगरपालिकाले नगर गानका लागि इच्छुक स्रष्टा तथा रचनाकारबाट रचना आह्वानसमेत गरेको छ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक गतिविधि तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने गीत निर्माण गर्न लागिएको हो। प्रस्तावित रचनामा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान स्पष्ट रूपमा झल्किनुपर्ने उनले बताए।
नगरप्रमुख मीनाकुमारी लामाले नगर गानलाई हेटौँडाको समग्र पहिचान र सामूहिक भावनाको प्रतिनिधित्व गर्ने सृजनाका रूपमा विकास गर्न खोजिएको बताइन्।
उनका अनुसार हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता तथा औद्योगिक विशेषतालाई समेट्ने गरी नगर गान तयार गरिनेछ। उत्कृष्ट सृजना चयनका लागि स्रष्टा तथा रचनाकारको व्यापक सहभागिता महत्वपूर्ण हुने उनको भनाइ छ।
उपमहानगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य प्रक्रिया ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार अघि बढाइने जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउने तयारीसँगै उपमहानगरपालिकाले नगरको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले विभिन्न प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्न लागेको हो।
नगर गानलाई ती अभियानमध्ये एक महत्वपूर्ण सांस्कृतिक माध्यमका रूपमा विकास गर्दै हेटौँडाको इतिहास, विविधता, प्रकृति र औद्योगिक चरित्रलाई साझा पहिचानका रूपमा प्रस्तुत गर्ने उपमहानगरपालिकाको लक्ष्य छ।





