१८ भाद्र २०८३, बिहीबार

देउवा समूहको राष्ट्रिय भेला साउन २९ देखि, उद्घाटनमा पूर्वसभापति देउवा सहभागी हुने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने र डा. शशांक कोइरालाको सभापतित्वमा सञ्चालन हुने तयारी गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार पूर्वसभापति देउवालाई भेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। देउवाले शुक्रबार दिउँसो १ बजे भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन उद्घाटन सत्र हुनेछ। उद्घाटन सत्रमा देउवासहित समूहका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। शनिबार र आइतबार दुई दिन बन्दसत्र सञ्चालन गरिनेछ।

विश्वकर्माका अनुसार भेलामा करिब चार हजार ६ सय नेता तथा कार्यकर्ताको सहभागिता अपेक्षा गरिएको छ। सहभागीको सङ्ख्या पाँच हजारभन्दा बढी पुग्न सक्ने आयोजकको अनुमान छ।

भेलामा पार्टीको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्था, आन्तरिक विवाद, आगामी कार्यदिशा र संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भेलामा प्रस्तुत गरिने प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको विश्वकर्माले बताए। प्रतिवेदनलाई बुधबार साँझसम्म अन्तिम रूप दिएर मुद्रणका लागि पठाउने तयारी रहेको उनले जानकारी दिए।

नेपाली कांग्रेसभित्र नेतृत्व, पार्टीको आधिकारिकता र आन्तरिक एकताका विषयमा बहस जारी रहेका बेला हुन लागेको यो राष्ट्रिय भेलालाई देउवा समूहको आगामी राजनीतिक तथा सांगठनिक रणनीति निर्धारणका दृष्टिले महत्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button