सरकारी निवेदनको ढाँचामा देशभर एकरूपता ल्याइने

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नयाँ मार्गदर्शन कार्यान्वयनमा आएपछि नागरिकले सरकारी कार्यालयअनुसार फरकफरक शैली र ढाँचामा निवेदन तयार गर्नुपर्ने झन्झट तथा अन्योल कम हुने अपेक्षा गरिएको छ। देशभर एउटै निश्चित ढाँचा लागू हुँदा निवेदन प्रक्रिया थप सरल, स्पष्ट र व्यवस्थित हुने विश्वास गरिएको छ।
सरकारले यस व्यवस्थालाई सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने प्रयासका रूपमा अघि सारेको छ। एउटै ढाँचाको प्रयोगले सरकारी निकायमा निवेदन दर्ता, अभिलेख व्यवस्थापन र सेवासम्बन्धी प्रक्रिया पनि थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मार्गदर्शनले परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्ने दिशालाई समेत जोड दिएको छ। भविष्यमा अनलाइन प्रणाली वा मोबाइल एपमार्फत निवेदन पेस गर्न सकिने संरचना विकास गर्दै लैजाने लक्ष्य राखिएको छ।
सरकारको यो कदमले सरकारी सेवामा प्रक्रियागत एकरूपता कायम गर्नुका साथै डिजिटल प्रशासन विस्तार र ‘डिजिटल नेपाल’ को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





