१८ भाद्र २०८३, बिहीबार

सरकारलाई सुरेश आले मगरको कटाक्ष: तीव्र गतिभन्दा नेतृत्वको क्षमता र दिशा महत्वपूर्ण

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘एक्स्प्रेस गाडी’सँग तुलना गर्दै तीव्र गतिमा अघि बढ्नु मात्र पर्याप्त नहुने र नेतृत्वको क्षमता, अनुभव तथा दिशा महत्वपूर्ण हुने बताएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै आले मगरले अहिले सरकारलाई तीव्र गतिमा अघि बढिरहेको ‘एक्स्प्रेस गाडी’का रूपमा चर्चा गरिए पनि त्यसलाई चलाउने चालक कस्तो छ भन्ने प्रश्न मूल विषय भएको बताए।

उनले ट्राफिक सुरक्षासम्बन्धी प्रचलित भनाइ उल्लेख गर्दै अत्यधिक गतिले दुर्घटनाको जोखिम बढाउने तर्क गरे। सक्षम र जिम्मेवार चालक भए तीव्र गतिमा चल्ने गाडी उपयोगी हुने तर चालक असन्तुलित वा असक्षम भए त्यसले दुर्घटना निम्त्याउन सक्ने उनले बताए।

आले मगरले आफ्नो टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै चालकले गाँजा, भाङ वा धतुरोजस्ता पदार्थ सेवन गरेको अवस्थामा गाडी कहाँ ठोक्किन्छ वा कसलाई असर गर्छ भन्ने निश्चित नहुने बताए। उनले सरकारको नेतृत्वमा अनुभव, विवेक र जिम्मेवारी आवश्यक रहेको संकेत गरेका थिए।

हरेक नयाँ कुरा सही र हरेक पुरानो कुरा गलत हुन्छ भन्ने दृष्टिकोण उचित नभएको उनले बताए। नयाँ सोच र परिवर्तन स्वीकार गर्न सकिने भए पनि नयाँपनका नाममा विगतका अनुभवलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने उनको भनाइ थियो।

आले मगरले वर्तमान सरकार र नेतृत्वमा पर्याप्त अनुभवको अभाव रहेको टिप्पणी गर्दै अनुभवहीनतासँगै दम्भ र अहंकार हाबी हुन नहुने बताए। उनले अनुभवी पुस्ताको सुझाव र विगतका शासन अनुभवबाट सिकेर अघि बढ्न सरकारलाई आग्रह गरे।

सरकारले शिक्षा र स्वास्थ्यसम्बन्धी केही करका विषयमा अघिल्लो निर्णयबाट पछि हटेको उल्लेख गर्दै उनले सरकार अघि बढ्ने दाबी गरे पनि कतिपय विषयमा पुनर्विचार गर्न बाध्य भएको बताए।

आले मगरले सङ्घीय शासन प्रणालीको समेत बचाउ गरे। लामो समय एकात्मक शासन व्यवस्था अभ्यास गरेको नेपालमा जातीय, सामाजिक तथा भौगोलिक विविधतालाई सम्बोधन गर्न सङ्घीय प्रणाली उपयुक्त रहेको उनको धारणा थियो।

सङ्घीयताले देश विखण्डन हुन्छ भन्ने तर्कलाई अस्वीकार गर्दै उनले स्विट्जरल्यान्ड र अमेरिकाजस्ता सङ्घीय मुलुकको उदाहरण दिए। सङ्घीय प्रणाली अपनाउँदैमा नेपाल टुक्रिन्छ भन्ने धारणा भ्रमपूर्ण रहेको उनले बताए।

उनले सरकारलाई केवल तीव्र गतिमा अघि बढ्नेभन्दा नेतृत्वको क्षमता, अनुभव, जिम्मेवारी र गन्तव्य स्पष्ट पारेर अघि बढ्न आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button